काठमाडौं– घरेलु टोली क्रिकेट एसोसियसन अफ रुपन्देही-११ प्रो-क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ।
अस्ट्रेलियाली लेजेण्ड शेन वार्नको स्मृतिमा भैरहवामा जारी प्रतियोगिता आइतबार रूपन्देहीले सिनियर टोलीका खेलाडीको बाहुल्यता रहेको विभागीय टोली नेपाल पुलिस क्लबमाथि २९ रनको जित निकालेको हो।
रूपन्देहीले पहिलो खेलमा मलेसिया सिनियर टोलीलाई हराएको थियो। ११८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पुलिस १८.५ ओभरमा ८८ रनमा अलआउट भयो।
पुलिसका ओपनर शंकर रानाले सर्वाधिक २८ रन बनाए। उनले ३० बलमा २ चौका र १ छक्का प्रहार गरे। यता, रोशन बुढा २० बलमा ३ चौका र १ छक्कासहित २५ रनमा आउट भए।
सिनियर टोलीका गुलशन झा ११, मञ्नित श्रेष्ठ ७, अलराउन्डर पवन सरार्फ २, दीलिप नाथ २, अर्जुन साउद शून्य, पेम तामाङ १ रनमा आउट भए।
करण केसी लगातार गोल्डेन डक आउट भए। रुपन्देहीका बशिर अहमदले ३ विकेट लिए। अनिल खरेल, विशाल विक्रम केसी र कृष्ण कार्कीले २/२ विकेट लिए।
त्यसअघि घरेलु मैदान सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो। रुपन्देहीका विशाल विक्रम केसीले सर्वाधिक २९ रन बनाए। उनले २५ बलमा ३ चौका प्रहार गरे।
विक्रम भुषाल १२ बलमा २ चौका र १ छक्कासहित १९ रनमा अविजित रहे। यता, बशिर अहमद १७, ओपनर देव खनाल १३, तुलबहादुर थापा १३, सन्दीप रजाली १०, प्रज्वल थापा ७, सौरभ खनाल २ र कृष्ण कार्की शून्यमा आउट भए। पुलिसका पवनले ४ विकेट लिए।
करण केसी, गुलशन झा, सागर ढकाल र मञ्जित श्रेष्ठले १/१ विकेट लिए। पुलिस पहिलो खेलमा पुश स्पोर्ट्स दिल्लीसँग १ रनले पराजित भएको थियो। रुपन्देहीले मलेसिया-११ लाई ६ विकेटले हराएको थियो।
पुलिसले मंगलबार मलेसियासँग खेल्नेछ। रुपन्देहीले बुधबार दिल्लीसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।