काठमाडौं– युवा ब्याटर रोहित पौडेलको अर्धशतकीय इनिङ्स र तीव्र गतिका बलर सोमपाल कामीको घातक बलिङमा त्रिभुवन आर्मी क्लबले प्रो–क्लब च्याम्पियनसिपमा नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ।
अस्ट्रेलियाली लेजेण्ड शेन वार्नको स्मृतिमा सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा भइरहेको प्रतियोगितामा आर्मीले एपीएफलाई ५१ रनले पराजित गरेको हो।
१ सय ४० रनको विजयी लक्ष्य पछ्याएको एपीएफ १९.१ ओभरमा ८८ रनमा अलआउट भयो। एपीएफका ओपनर तथा कप्तान प्रदीप ऐरीले सर्वाधिक ३१ रन बनाए।
उनले १६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यता, रित गौतम १२, सुमित महर्जन १२, लोकेश बम ९, सन्दीप जोरा ९ र अमर राउटेला ४ रनमा आउट भए।
आर्मीका सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए। साहब आलम, कुशल मल्ल र विक्रम सोबले २/२ विकेट लिए।
त्यसअघि युवा ब्याटर रोहित पौडेलको अर्धशतकीय इनिङ्समा आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनायो।
आर्मीका रोहित सर्वाधिक ८० रनमा अविजित रहे। उनले ५७ बलमा ९ चौका र १ छक्का प्रहार गरे। यता, भीम सार्की २२ र कप्तान विनोद भण्डारी १९ रनमा आउट भए।
ओपनर सन्तोष कार्की ७, राजेश पुलामी २, हरि चौहान र कुशल मल्ल शून्यमा आउट भए।
एपीएफका भुवन कार्की र किशोर महतोले २/२ विकेट लिए। अमर राउटेला र नन्दन यादवको नाममा १/१ विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।