काठमाडौं– सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल)का क्रममा आफूमाथि शारीरिक दुर्व्यवहार भएको भारतीय स्पिनर युजवेन्द्र चहलले खुलासा गरेका छन्।
हालै राजस्थान रोयल्सले सार्वजनिक गरेको एक भिडियोमा चहलले सन् २०१३ को आईपीएलमा शारीरिक उत्पीडनको सामना गर्नुपरेको खुलासा गरेका हुन्।
त्यो बेला उनी मुम्बई इन्डियन्सबाट खेल्थे। मुम्बईका क्रिकेटरले मदिरा सेवन गरेर १५औं तलाको बालकनीबाट तल झुण्डि्याइएको उनले आरोप लगाएका छन्। यसपछि आफू बेहोस भएको उनको भनाइ छ।
पूर्वभारतीय क्रिकेटर तथा प्रशिक्षक रवि शास्त्रीले चहलमाथि भएको घटनाका दोषीलाई क्रिकेटबाट आजीवन प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेका छन्।
उनले भने,‘यो हाँसोको कुरा होइन। यदि कोही व्यक्ति सचेत छैन भने उसले सार्वजनिक स्थानहरूमा जानुहुँदैन। यो चिन्ताको विषय हो। कसैले यसलाई मजाकको रूपमा देख्न सक्छन्, तर मेरो लागि यो मजाक होइन। सानो गल्तीले पनि कसैको ज्यान जान सक्छ र यो स्वीकार्य छैन। मैले क्रिकेट सर्कलमा यस्तो डरलाग्दो कुरा सुनेको यो पहिलो पटक हो। र, यसलाई मजाकको रूपमा लिनुहुँदैन।’
चहलको खुलासापछि उनका समर्थकहरुले दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्। चहलले अन्य मानिसहरु आएर आफूलाई बचाएको समेत बताएका छन्।
शास्त्रीले यस्ता कुरालाई बोर्ड र फ्रेन्चाइजले पनि गम्भीरताका साथ लिनुपर्ने बताएका छन्। साथै, यस्ता व्यक्तिलाई तत्काल सुधार गृहमा पनि पठाउनुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।