काठमाडौं– अस्ट्रेलियाली लेजेण्ड शेन वार्नको स्मृतिमा भैरहवामा जारी प्रो–क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा उत्तर प्रदेश क्लब–११ विजयी भएको छ। शनिबार भएको खेलमा उत्तर प्रदेशले ट्यालेन्ट हन्ट एकेडेमीलाई ८ विकेटले पराजित गरेको हो।
ट्यालेन्ट हन्टले दिएको ७८ रनको सामान्य लक्ष्य उत्तर प्रदेशले ११.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। उत्तर प्रदेशका लागि विवके सिंह र सुभम चौधरीले नटआउट इनिङ्स खेले। विवेकले ३३ रन बनाए भने सुभमले १७ बनाए।
राज यादव १५ र नितिन राना १ रनमा आउट भए। ट्यालेन्ट हन्टका मोहम्मद मोसराफ र राज बमले एक/एक विकेट लिए ।
त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ गरेको ट्यालेन्ट हन्टले १८.२ ओभरमा सबै विकेट गुमाएर ७७ रन बनायो।
ट्यालेन्ट हन्टका एमडी उमरले सर्वाधिक २० रन बनाए। यस्तै, आशिष रतनले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
उत्तर प्रदेशका प्रिन्स शाहीले ४ ओभरको स्पेलमा १५ रन खर्चिएर ४ विकेट लिए। तेजस सिंहले ३.२ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।