काठमाडौं– स्पिनर सचिनकुमार सिंहको उत्कृष्ट बलिङमा पुश स्पोर्ट्स दिल्लीले प्रो–क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबमाथि एक रनको रोमाञ्चक जित हात पारेको छ।
१ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनायो। पुलिसका गुलशन झाले सर्वाधिक ३६ रन बनाए। उनले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
यता, पवन सरार्फले ३३ रन बनाए। दीलिप नाथ १९, शंकर राना ११, अर्जुन साउद १ र करण केसी गोल्डेन डक आउट भए।
दिल्लीका सचिनले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर ६ विकेट लिए। विशेष सारोहाले २ विकेट लिए।
त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो।
दिल्लीका ओपनर आदित्य जैनले सर्वाधिक ३८ रनको योगदान दिए। उनले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ईशान पाण्डेले २१ रन बनाए। मरिजंग पाठकलाई ९ र अभिषेक अग्रवाल १ रनमा आउट भए।
पुलिसका मध्य गतिका बलर मञ्जित श्रेष्ठले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए। स्पिनर पवन सरार्फले २ विकेट लिए। सागर ढकाल र करण केसीले १–१ विकेट लिए।
पुलिसले अब रुपन्देहीसँग खेल्नेछ। दिल्लीले सोमबार मलेसियासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।