काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को १५औं खेलमा बिहीबार दिल्ली क्यापिटल्स नवप्रवेशी लखनऊ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको छ। दिल्लीको यो लगातार दोस्रो हार हो।
मुम्बईको डीवाई पाटिल स्टेडियममा खेलिएको खेलमा दिल्लीका कप्तान ऋषभ पन्तलाई ‘स्लो ओभर रेट’का कारण जरिवाना लगाइएको छ।
पन्तको टोलीले निर्धारित समयमा ओभर पूरा गर्न सकेन। जसका कारण कप्तान पन्तलाई १२ लाख भारु जरिवाना गरिएको आईपीएलले एक विज्ञप्तिमार्फत् जनाएको छ। जारी सिजनमा जरिवानामा पर्ने पन्त तेस्रो कप्तान हुन्।
यसअघि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई ‘स्लो ओभर रेट’का कारण कारबाही गरिएको थियो।
यता, राजस्थान रोयल्सविरुद्धको पहिलो खेलमा सनराइजर्स हैदरावादको टोलीले समयमै ओभर बलिङ गर्न नसकेपछि कप्तान केन विलियम्सनलाई पनि जरिवाना गरिएको थियो।
खेलपछि आईपीएलको विज्ञप्तिमा भनिएको छ, ‘अप्रिल ७ मा नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा ‘स्लो ओभर रेट’ कायम गरेपछि दिल्ली क्यापिटल्सलाई जरिवाना गरिएको छ। त्यसैले दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई आईपीएलको आचारसंहिता अनुसार १२ लाख रुपैयाँ जरिवाना लगाइएको छ।’
‘ओभर रेट’ भनेको बलिङ पक्षले एक घण्टामा गरेको ओभरको औसत संख्या हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नियमअनुसार टी२० खेलमा एक घण्टामा १४.१ ओभर बलिङ गरिसक्नुपर्छ।
टी२० मा टोलीले एक घण्टा २५ मिनेटमा इनिङ्स पूरा गर्नुपर्ने नियम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।