काठमाडौं– रुपन्देही-११ ले नेपाल प्रो-क्लब च्याम्पियनसिप प्रतियोगितामा सुखद् सुरूआत गरेको छ। अस्ट्रेलियाली लेजेण्ड शेन वार्नको स्मृतिमा भैरहवामा सुरू भएको उद्घाटन खेलमा रुपन्देही-११ ले मलेसिया-११ लाई ६ विकेटले पराजित गरेको हो।
१ सय ३२ रनको लक्ष्य पछ्याएको रुपन्देही-११ ले १९ ओभर २ बलमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो। रूपन्देही-११ को जितमा ओपनर प्रजोल थापाले सर्वाधिक ३८ रन बनाए। उनले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
यस्तै, बसिर अहमदले अविजित २७, सन्दीप रजालीले अविजित २४, देव खनालले २२ रन बनाए। तुल थापा ७ र सुशान्त थापा ६ रनमा आउट भए ।
मलेसिया-११ का वीरन्दिप सिंहले २ तथा मुहमद अमिर र सेइद अजिजले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया-११ ले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।
मलेसिया-११ का ओपनर वीरन्दिप सिंहले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ६३ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
यस्तै, शर्भिन मुनिएन्डिले २८ र सेइद अजिजले २५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
रुपन्देही-११ का कृष्ण कार्कीले सर्वाधिक ३ विकेट लिए। यता, बसिर अहमदले २ विकेट लिए। यस्तै, अनिल खरेल, दुर्गेस गुप्ता र विक्रम भुसालले समान १-१ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।