काठमाडौं– दक्षिण अफ्रिकाकी ब्याट्सम्यान मिनोन डुप्रीले एकदिवसीय र टेस्टबाट सन्यास लिएकी छन्। उनले क्रिकेटको छोटो ढाँचामा ध्यान केन्द्रित गर्न र आफ्नो परिवारसँग बढी समय बिताउन यो निर्णय लिएकी हुन्।
क्रिकेट दक्षिण अफ्रिकाद्वारा जारी विज्ञप्तिमा डुप्रीले भनिन्, ‘चारवटा आईसीसी एकदिवसीय विश्वकप खेल्न पाउँदा म भाग्यमानी छु। यी सबै मेरो जीवनका विशेष क्षणहरू मध्ये एक हुन्। मलाई लाग्छ दक्षिण अफ्रिका महिला क्रिकेट राम्रो ठाउँमा छ। र यो पछाडि हट्ने र अर्को पुस्तालाई मौका दिने समय हो।’
डुप्रीले दुई ढाँचाबाट सन्यास लिइसकेकी छन्। उनले २०१४ मा भारतविरुद्ध टेस्ट खेलेकी थिइन्। उनले १०२ रन बनाएका थिए तर टोली हार्यो।
२००७ मा एकदिवसीय क्रिकेटमा डेब्यू गरेकी डुप्रीले १५४ ओडीआईमा ३ हजार ७६० रन बनाएकी छन्। ३२ वर्षिय डुप्रीले २०११ देखि २०१६ सम्म ४६ एकदिवसीय खेलमा टोलीको कप्तानी समेत गरेकी थिइन्। जसमा टोलीले २४ खेलमा जित हासिल गरेको थियो।
उनले भनिन्,‘म क्रिकेट दक्षिण अफ्रिकाका सबैलाई धन्यवाद दिन चाहन्छु जसले मेरो एकदिवसीय करिअरमा सधैं मलाई समर्थन गरेको छ। मैले मेरो देशको लागि १५४ ओडीआई खेलें र देशको लागि कप्तानी गरेकोमा मलाई गर्व लाग्छ।’
न्यूजिल्याण्डमा भर्खरै सम्पन्न एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा इंग्ल्याण्डसँग पराजित भएको थियो, जुन डुप्रीको अन्तिम एकदिवसीय पनि थियो।
उनी भारतविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ पनि भइन्, जहाँ उनले २७५ रनको लक्ष्य पछ्याउने क्रममा पाँचौं नम्बरमा अविजित ५२ रन बनाएर आफ्नो टोलीलाई अन्तिम बलमा जित दिलाएकी थिइन्।
दक्षिण अफ्रिकाले अब जुलाईमा इंग्ल्याण्डसँग तीन टी२०, तीन एकदिवसीय र एक टेस्ट खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।