काठमाडौं– नेपाली टोलीसँग एकदिवसिय र टी२० सिरिज खेल्न जिम्बाब्बे ‘ए’ टोली नेपाल आउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार जिम्बाब्बेको ‘ए’ टोली नेपालसँग तीन एकदिवसिय र तीन टी२० सिरिज खेल्न नेपाल आउन लागेको हो।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका उक्त सिरिज अप्रिल–मे मा हुनेछ। सिरिज अप्रिल अन्तिमदेखि सुरु हुनेछ।
‘जिम्बाब्बेको ‘ए’ टोली नेपालमा आउने पक्का भएको छ। जिम्बाब्बे सिनियर टोलीबाटै खेलिरहेका आफ्नो पहिलो रोजाइको टोली नै पठाउने भनिएको छ। टोली पहिलो रोजाइको आएपनि जिम्बाब्बे ‘ए’ नाम रहने छ,’ मल्लले नेपाल लाइभसँग भने।
उनका अनुसार जिम्बाब्बेको राष्ट्रिय टोली नभएकाले आईसीसीको एकदिवसीय र टी२० अन्तर्राष्ट्रियको मान्यता भने हुने छैन। खेल लिस्ट ‘ए’ र टी२० मान्यता हुनेछ।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ। अमेरिका भ्रमण लगत्तै नेपालले विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड भ्रमण गर्ने उनले जानकारी दिए। उक्त सिरिज अघि नेपालले तयारीको लागि बलियो जिम्बाब्बे ‘ए’ सँग खेल्न लागेको हो।
क्यानका अध्यक्ष चतुरबाहदुर चन्दका अनुसार टी२० खेल जिम्बाब्बेकै आग्रह अनुसार खेल्न लागिएको हो। ‘जिम्बाब्बेले विश्वकप तयारीको लागि टी२० खेल्न जोड गरेको हो। तर, आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिजका लागि हामीले एकदिवसीयलाई जोड दिएका हौं। त्यसैले ३-३ खेल खेल्न लागेको हो,’ उनले नेपाल लाइभलाई भने।
नेपालले सोमबार मात्र त्रिकोणात्मक टी२० आई सिरिजको उपाधि जितेको छ। घरेलु मैदान टियुमा नेपालले पपुवा न्यू गिनीलाई फाइनलमा ५० रनले पराजित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।