काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो दुई खेलमा राजस्थान रोयल्सका जोस बट्लर र मुम्बई इन्डियन्सका इशान किशनले १ सय ३५ रन बनाएका छन्।
अहिले दुवै खेलाडी ‘ओरेन्ज क्याप’को दौडमा बराबरीमा छन्। मुम्बई र राजस्थानबीचको खेलमा बट्लरले ६८ बलमा १०० रन बनाएका थिए भने सोही खेलको दोस्रो इनिङ्समा किशनले ४३ बलमा ५४ रन बनाएका थिए।
मुम्बईको पहिलो खेलमा पनि किशनले ४८ बलमा ८१ रनको इनिङ्स खेलेका थिए। तर, उनको टोलीले यी दुवै खेलमा हार बेहोरेको थियो। यो सूचीमा शिवम दुबे १०९ रन बनाएर तेस्रो स्थानमा छन्। यस्तै, लियाम लिभिङ्स्टन ९८ र आन्द्रे रसेल ९५ रनको साथ चौथो र पाँचौं स्थानमा छन्।
कोलकाता नाइट राइडर्सका फास्ट बलर उमेश यादव सर्वाधिक विकेट लिने बलर हुन्। उनले तीन खेलमा ७.३७ को औसतमा ८ विकेट लिएका छन्, जसमध्ये उनले पञ्जाब किंग्सविरुद्ध ४ विकेट लिएका थिए।
राहुल चाहर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। उनले अहिलेसम्म कुल ६ विकेट लिएका छन्।
मोहम्मद सामी, टिम साउथी, वानिन्दु हसरंगा र ड्वेन ब्राभो तेस्रो स्थानमा छन्। यी सबै बलरले ५–५ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।