काठमाडौं– घरेलु टोली नेपाललाई त्रिकोणात्मक टी२० आई सिरिजको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका अलराउन्डर दीपेन्द्रसिंह ऐरी प्लेयर अफ द सिरिज घोषित भएका छन्।
सिरिजमा दीपेन्द्रले ५ खेल खेल्दै एक शतकसहित कूल २ सय ५५ रन बनाएका थिए। यस्तै, पपुवा न्यू गिनीविरुद्धको फाइनल खेलमा ४ विकेटसहित समग्रमा ७ विकेट लिएका थिए।
फाइनल खेलमा उनले अविजित ५४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। दीपेन्द्र फाइनलको प्लेयर अफ द म्याचसमेत घोषित भए।
दीपेन्द्रले सोमबार यसै खेलबाट टी२० आईमा १ हजार रनसमेत पूरा गरे।
टी२० आईमा १ हजार रन पूरा गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी हुन्। दीपेन्द्रले ३८ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै १ हजार रन पूरा गरेका हुन्। यसक्रममा उनले १ शतक र ५ अर्धशतक बनाएका छन्।
हालसम्म नेपालका तर्फबाट टी२० आईमा सर्वाधिक रन बनाउने सूचीको दोस्रो नम्बरमा पूर्वकप्तान पारस खड्का छन्। उनले ७९९ रन बनाएका छन्। खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन्।
यस्तै, पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ७४८ रन बनाएका छन्। चौथो नम्बरमा रहेका कुशल भुर्तेलले हालसम्म १५ खेलबाट ५४८ रन जोडेका छन्।
दीपेन्द्र टी२० आईमा एकै इनिङ्समा सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत हुन्। उनले मलेसियाविरुद्ध १ सय २६ रनको अविजित शतकीय इनिङ्स खेल्दै उच्च स्कोर बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।