काठमाडौै– दीपेन्द्रसिंह ऐरी टी२० आईमा १ हजार हजार रन पूरा गरेका छन्। सोमबार त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत पपुवा न्यू गिनीविरूद्धको फाइनल खेलमा उनले १ हजार रन पूरा गरेका हुन्। राइली हेकुरेको १२औं ओभरको तेस्रो बलमा १ रन लिँदै उनले १ हजार पूरा गरेका हुन्।
ऐरीले १ हजार रन पूरा गर्न ३९ खेलको ३४ इनिङ्समा १ शतक र चार अर्धशतक बनाए। यस क्रममा उनले ८० चौका र ३२ वटा छक्का प्रहार गरेका छन्। यो सँगै उनी नेपालको तर्फबाट सर्वाधिक रन बनाउने ब्याटर बनेका छन्।
हालसम्म नेपालका तर्फबाट टी२० आईमा सर्वाधिक रन बनाउने सूचीको दोस्रो नम्बरमा पूर्व कप्तान पारस खड्का छन्। उनले ७९९ रन बनाएका छन्। खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन्।
यस्तै, पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ७४८ रन बनाएका छन्। चौथो नम्बरमा रहेका कुशल भुर्तेलले हालसम्म १५ खेलबाट ५४८ रन जोडेका छन्। यस्तै, दीपेन्द्रसिंह ऐरीले यो वर्ष टी२० आईमा सर्वाधिक रन बनाउने मामलामा शीर्ष स्थानमा छन्।
उनले १२ खेलको ११ इनिङ्समा तीन अर्धशतक र एक शतकसहित सर्वाधिक ६२.७५ औसतमा ५०२ रन बनाएका छन्। जसमा ऐरीको उच्च स्कोर अविजित ११० रन रहेको छ।
त्यस्तै, यूएईका मोहम्मद वसिम दोस्रो स्थानमा छन्। उनले ८ खेलमा एक शतक र तीन अर्धशतकसहित ३५९ रन बनाएका छन्। वेष्ट इण्डिजका निकोलस पूरनले ८ खेलमा चार अर्धशतकको मद्दतमा ३४८ रन बनाएका छन्। उनी तेस्रो नम्बरमा छन्।
चौथो नम्बरमा रहेका यूएईका वृत्त अरविन्द सात इनिङ्समा तीन अर्धशतकको सहयोगमा ३३६ रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।