काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज (सोमबार) नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ।
नेपाल र पीएनजीबीचको फाइनल खेल अपराह्न १२ः३० बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। प्रतियोगितामा अपराजित नेपाल उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछ।
जारी सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो। ‘अहिलेसम्म हामीले परिक्षण गर्यौं अब फाइनलमा राम्रो खेल्नेछौं,’ नेपालका कप्तान सन्दीप लामिछानेले फाइनल अघि भनेका छन्, ‘एक खेलाडीको रुपमा मेरो लागि यो फाइनल एकदम महत्त्व राख्छ, म कप्तान भएपन नभएपनि म यो टिमको सदस्य हो। अरुलाई जति खुसी हुन्छ त्यतिनै खुसी मेरो लागि पनि हुन्छ।’
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो। ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो।
पीएनजी नेपाललाई पन्छाउँदै टी–ट्वान्टी सिरिजको पनि उपाधि उचाल्ने योजनामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।