काठमाडौं– घरेलु टोली नेपालले त्रिकोणात्मक टी२० क्रिकेट सिरिजको फाइनल पपुवा न्यू गिनीको प्रतिस्पर्धी गर्दै छ। सोमबार हुने नेपाल र पपुवा न्यू गिनीबीचको खेल मध्यान्ह १२ः३० बाट सुरु हुनेछ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेलमा पपुवा न्यू गिनीविरुद्ध उपाधिका लागि खेल्ने बताएका छन्।
फाइनल खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफ्नो शतप्रतिशत दिएर खेल्ने बताए। सन्दीपको कप्तानीमा नेपाले पहिलो पटक घरेलु मैदानमा उपाधिको लागि खेल्न लागेको हो।
‘फाइनल खेल निकै नै महत्वूर्ण छ। हामी उपाधि जित्न आफ्नो शतप्रतिशत दिएर खेल्छौं,’ सन्दीपले भने,’सिरिज जिताएर सबै समर्थकहरुलाई खुशी बनाउनेछौं’
त्रिकोणात्मक टी२० सिरिजमा नेपालसहित पपुवा न्यू गिनी र मलेसियाको सहभागिता थियो। नेपाल प्रतियोगिताको चार खेलमा अपराजित रहँदै फाइनल पुगेको हो। यस्तै पपुवा न्यू गिनी दुई अंक भएपनि फाइनल पुग्न सफल भएको थियो।
सन्दीपले फाइनल खेलमा कुनै पनि दबाब नभएको बताएका छन्। घरेलु दर्शकमाझ खेल्दासधै उर्जा प्राप्त हुने र प्रतियोगिताको उपाधि जित्न खेल्ने उनले बताए ।
‘सिरिजका चार खेलमा सहज जित निकालेका कारण फाइनलमा मनोबल उच्च छ। हामीलाई केही दबाब छैन,’ उनले भने,‘हामी सबै खेलाडी आफ्नो तर्फबाट दिनै सबै मिहिनत दिनेछौं।’
यता, पपुवा न्यू गिनीका कप्तान असाड भालाले पनि उपाधि जित्नका लागि खेल्ने बताएका छन्।
‘सिरिजका अन्य खेलमा बेहोरेको हारले केही दबाब छैन। हामी सिरिज जित्नका लागि मैदान उत्रनेछौं,’ उनले भने, सिरिजका अघिल्लो तीन खेलमा पराजित भएर पनि फाइनलमा स्थान बनाएका छौं । त्यसैले पनि हाम्रो लागि यो सिरिज निकै महत्त्वपूर्ण छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।