काठमाडौं– घरेलु मैदानमा जारी त्रिकोणात्मक टी २० आई सिरिजअन्तर्गत मलेसियासँग शनिबार भएको खेलमा घाइते भएका तीव्र गतिका बलर कमलसिंह ऐरीको चोटको शल्यक्रिया भएको छ।
आइतबार बिहान कलंकीमा रहेको नेपाल नेसनल अस्पतालमा चिकित्सक निरज केसी र निराजन सुवेदीको टोलीले कमलको चोटको शल्यक्रिया गरेका हुन्।
शनिबार टियु मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य मलेसियाले पछ्याउने क्रममा कमल १८औं ओभरमा घाइते भएका थिए।
युवा बलर आदिल अन्सारीको बलमा मलेसिया ब्याटर एनुल हफिजले चोभार एण्डतर्फको लङअनमा प्रहार गरेको बल रोक्नेक्रममा क्रममा उनी घाइते भएका थिए।
बल रोक्न डाइभ हान्ने क्रममा घाँटी मुनि रहने बायाँ भागको ब्यूटी बोनमा चोट लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका फिजियो विक्रम न्यौपानेका अनुसार उक्त हड्डी बिचबाट भाँचिएको हुँदा शल्यक्रिया गरिएको हो।
शल्यक्रियापछि हड्डी ठीक हुन कम्तिमा ६ हप्ता जति समय लाग्ने उनले बताए।
कमल यसअघिका तीन खेलमा सामान्य चोटका कारण बेन्चमा थिए। उनलाई शनिबार मुख्य प्रशिक्षक पवुदु दासानायकेले सोमपाल कामीको स्थानमा मौका दिएका थिए। कमलले चोट बोक्नु अघि सुरुवातमै दुई प्रमुख विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।