काठमाडौं– अस्ट्रेलियाले ९ वर्षपछि एकदिवसिय महिला विश्वकप २०२२ को उपाधि जितेको छ।
फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले हराउँदै अस्ट्रेलिया सातौं पटक महिला विश्वकप च्याम्पियन बनेको हो।
३५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २ सय ८५ रनमा अलआउट भयो।
इंग्ल्यान्डकी नाट सेभरले १४८ रनको अविजित शतकीय इनिङ्स खेलेकी थिइन्। उनले १ सय २१ बलमा १५ चौका र १ छक्का प्रहार गरिन्। तर, अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
यस्तै, टामी बिउमोंटले २७, कप्तान हेथर नाइटले २६, यमी जोन्सले २०, सोफिया डंक्लेले २३ र चार्ली डीनले २१ रन बनाइन्।
अस्ट्रेलियाकी अलाना किंग र जेस जेनसेनले ३/३ विकेट लिइन्। मेगन स्कटले २ विकेट लिइन्।
त्यसअघि क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धाारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनाएको थियो। यो महिला विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो योगफल हो।
ओपनर हेलीले १७० रनको शतकीय इनिङ्स खेलिन। उनले १ सय ३८ बलमा २६ चौका प्रहार गरिन्। हेलीको यो अन्तर्राष्ट्रिय करिअरको उत्कृष्ट प्रदर्शन हो। ओडीआई उनको यो करिअरकै पाँचौं शतक हो।
अर्की ओपनर राहेल हेन्स ९३ बलमा ७ चौकासहित ६८ रनमा आउट भइन्। पहिलो विकेटका लागि हेन्स र हेलीले २९.१ ओभरमा १ सय ६० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए।
बेथ मुनीले ४७ बलमा ८ चौकासहित ६२ रन जोडिन्। एलिस ऐरीले १७ र मेग ल्यानिङले १० रन बनाइन्।
इंग्ल्यान्डको लागि अन्या श्रुब्सोले ९ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन्। अस्ट्रेलियाले यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।