काठमाडौं– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित निकालेको छ।
शनिबार सम्पन्न खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २३ रनले हराउँदै लगातार दोस्रो जित निकालेको हो। राजस्थानले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो।
मुम्बईको सुरुआत भने खराब रह्यो। टोलीले चौथो ओभरसम्म कप्तान रोहित शर्मालाई १० र अनमोलप्रीत सिंहलाई ५ रनमा गुमाएको थियो।
तर, यहाँबाट इशान किशन र तिलक वर्माले ८१ रनको उत्कृष्ट साझेदारी गर्दै मुम्बईलाई बलियो स्थितिमा पुर्याएका थिए। किशनले ४३ बलमा ५ चौका र एक छक्का सहित ५४ रन बनाए।
यसैबीच, तिलक वर्माले ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रन बनाए। त्यसपछि युजवेन्द्र चहलले लगातार दुई बलमा टिम डेभिड र ड्यानियल साम्सलाई आउट गर्दै मुम्बई इन्डियन्सलाई दोहोरो झटका दिए। उनले ह्याट्रिक पनि लगभग पूरा गरे, तर करुण नायरले मुरुगन अश्विनको क्याच छोडे।
केरोन पोलार्डले २२ रन बनाएपनि टोलीलाई जिताउन सकेनन्। राजस्थानका लागि युजभेन्द्र चहल र नवदीप सैनीले दुई/दुई विकेट लिए। आर अश्विन, ट्रेन्ट बोल्ट र प्रमुख कृष्णाले एक/एक विकेट लिए।
त्यसअघि हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनाएको थियोर
राजस्थानको सुरुआत पनि खासै हुन सकेन र पावरप्लेमा नै दुई विकेट गुमाएको थियो। यशस्वी जैसवाल र देवदत्त पडिक्कलले खासै योगदान दिन सकेनन्। यद्यपि, जोस बट्लर सुरुदेखि नै बलरलाई दबाब दिन सफल भए। उनले ६८ बलमा ११ चौका र ५ छक्का प्रहार गर्दै १०० रन बनाए।
बट्लरले आफ्नो आईपीएल करियरको दोस्रो शतक ६६ बलमा पूरा गरे। बट्लर १९ औं ओभरमा १०० रनको स्कोरमा आउट भए। उनलाई कप्तान सञ्जु सैमसनको राम्रो साथ मिलेको थियो र दुवैले ८.२ ओभरसम्म ८२ रनको साझेदारी गरे। १५औं ओभरमा तेस्रो विकेटका रूपमा सामसनको विकेट खस्यो।
आउट हुनुअघि उनले २१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ३० रन बनाएका थिए। शिमरोन हेटमायरले तीव्र गतिमा खेल्दै १४ बलमा ३५ रन बनाए। उनले आफ्नो इनिङ्समा ३ चौका र ३ छक्का प्रहार गरे।
राजस्थानले अन्तिम दुई ओभरमा ११ रन मात्र बनाएको थियो जसका कारण २० ओभरमा १९३ रन मात्रै बनाउन सकेको थियो। एक समय राजस्थान रोयल्सको टोलीले सजिलै २०० रनको अंक पार गर्छ भन्ने लाग्थ्यो तर जसप्रित बुमराहले घातक बलिङ गर्दै मुम्बई इन्डियन्सलाई खेलमा फर्काएका थिए। जसप्रित बुमराह र टिमल मिल्सले ३–३ विकेट लिए। किरोन पोलार्डले एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।