काठमाडौं– मध्यक्रमका युवा ब्याटर दीपेन्द्रसिंह ऐरीको शतकीय इनिङ्स प्रेरित घरेलु टोली नेपालले त्रिकोणात्मक टी२० आई सिरिज अन्तर्गत अन्तिम खेलमा मलेसियालाई २२४ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनाएको हो।
नेपालका लागि दीपेन्द्रले सर्वाधिक ११० रनसहित अविजित रहे। उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे। दीपेन्द्रले ५५ बलमा शतक पूरा गरेका थिए। दीपेन्द्रले सैद अजिजलाई अन्तिम ओभरको चौथो बलमा स्टेटमा सानदार छक्का प्रहार गर्दै शतक पूरा गरे।
उनी नेपालबाट टी२० आईमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन्। यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी२० आईमा शतक प्रहार गरेका थिए।
यसअघि दीपेन्द्रको टी२० आईमा उत्कृष्ट प्रदर्शन फिलिपिन्सविरुद्ध ८३ रन थियो।
यस्तै, रोहितकुमार पौडेलले ५१ रन बनाए। उनले ३४ बलमा ५१ रन बनाए। रोहितको टी२० आईमा यो पहिलो अर्धशतक हो।
तेस्रो विकेटका लागि दीपेन्द्रले रोहित पौडेलसँग ९६ रनको साझेदारी गरेका थिए। रोहित मोहम्मद आमिरको बलमा डिपमिड विकेटमा क्याच भएका थिए।
त्यसअघि आसिफ सेख १८ र कुशल भुर्तेल १२ रनमा आउट भए। युवा ब्याटर आदिल अन्सारीले १४ रन बनाए। मलेसियाका मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।