काठमाडौं- मध्यक्रमका ब्याटर टोनी उराको अविजित बिस्फोटक इनिङ्स प्रेरित पपुवा न्यू गिनीले त्रिकोणात्मक टी२० आई सिरिजमा मलेसियामाथि आफ्नो इतिहासकै उत्कृष्ट जित हात पारेको छ।
शुक्रबार भएको लिगको अन्तिम खेलमा पपुवा न्यू गिनीले मलेसियालाई ८ विकेटले हराएको हो। १ सय ९७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पीएनजीले १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
पपुवा न्यू गिनीले टी२० आई आफ्नो इतिहासमा पूरा गरेको यो सर्वाधिक सर्वाधिक ठूलो लक्ष्य हो। जितसँगै पपुवा न्यू गिनीले फाइनलको यात्रा जिवितै राखेको छ।
पपुवा न्यू गिनीको जितमा उराले ३४ बलमा २ चौका र १० छक्कासहित ८६ रनको अविजित इनिङ्स खेले।
यता, ओपनर तथा कप्तान असाद भाला ५१ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा अविजित रहे। तेस्रो विकेटका लागि उरा र भालाले १ सय ३७ रनको अविजित कीर्तिमानी शतकीय साझेदारी गर्दै जित पक्का गराए।
उरा र भालाले यसअघि सन् २०१९ मा नामिबियाविरुद्ध १ सय २५ रनको कीर्तिमानी साझेदारी गरेका थिए। ओपनर लेगा सियाका पहिलो बलमै आउट भएका थिए।
मलेसियाका मोहम्मद वाफिक र इद्रुसले १–१ विकेट लिए। शर्विनले २.५ ओभरमा ४९ रन खर्चिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनायो।
मलेसियाका सेइद अजिजले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान अहमद फैजले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६३ रन बनाए।
तेस्रो विकेटका लागि अजिज र फैजले १ सय १५ रनको शतकीय कीर्तिमानी साझेदारी गरेका थिए। मलेसियाबाट पहिलो पटक टी२० आईमा शतकीय साझेदारी भएको हो।
यसअघि पपुवा न्यू गिनीविरुद्ध यसै सिरिजमा विरनदीपसिंह र फैजले दोस्रो विकेटका लागि ९५ रनको उच्च साझेदारी गरेका थिए।
यता, जुबईदी जुल्किल्फेले ४६ रन बनाए। उनले २२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। ओपनर भिरनदीप सिंहले १० रन जोड्दा मुहमद अमिर ८ रनमा आउट भए।
पपुवा न्यू गिनीका काबुअ मोरेअले ४ विकेट हात पारे। यस्तै चाद सोपर र रिले हेकुरेले समान १/१ विकेट लिए।
नेपाल सुरुआती तीन खेलमा लगातार जितका साथ फाइनलमा पुगिसकेको छ। नेपालको ६ अंक छ।
नेपालले अन्तिम खेल शनिबार मलेसियासँग खेल्नेछ। मलेसिया उक्त खेलमा विजयी भएमा ४ अंकका साथ फाइनलमा पुग्नेछ। पराजित भएमा भने पपुवा न्यू गिनी फाइनलमा पुग्नेछ।
मलेसिया पराजित हुँदा दुबै टोलीको २/२ अंक हुँदा नेटरनरेटको आधारमा पपुवा न्यू गिनी फाइनलमा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।