काठमाडौं- करण केसीको घातक बलिङसँगै नेपाल अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा प्रवेश गरेको छ। बिहीबार प्रतियोगिताकै कमजोर मानिएको पपुवा न्यू गिनीलाई ३७ रनले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो।
नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पपुवा न्यू गिनी निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६६ रनमा समेटियो।
पपुवा न्यू गिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाए। उनले ४७ बलमा ९ चौका प्रहार गरेका थिए। यस्तै, टोनी उराले ४३ रन बनाए। उनले २२ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए। तेस्रो विकेटका लागि अमिनी र टोनी उराले ८४ रनको साझेदारी गर्दै जितको आशा कायमै राखेका थिए।
उरा सोमपाल कामीको १२औं ओभरको पहिलो बलमा लङअपमा कुशल भुर्तेलबाट क्याच आउट भए। अमिनी पनि सोमपालकै बलमा भुर्तेलबाट क्याच आउट भएका थिए। यता, सेसे बाउले २५, नर्मन भानुआले १७ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए। करणले ५ विकेट लिन ३.४ ओभरमा २१ रन खर्चे। एकै खेलमा ह्याट्रिक विकेट र सर्वाधिक विकेट लिने उनी पहिलो खेलाडी हुन्।
योसँगै करणले टी२० आईमा ५४औं विकेट लिएका छन्। उनले सन् २०१५ मा नेदरल्यान्डविरुद्धको टी२० आई खेलमा डेब्यू गरेका थिए। यता, सोमपाल कामी र अभिनाश बोहोराले समान २/२ विकेट लिए। कप्तान सन्दीप लामिछानेले १ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले। ऐरीले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यता, डेब्यू खेल खेलेका आदिल अन्सारीले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको विष्फोटक इनिङ्स खेले।
चौथो विकेटका लागि दीपेन्द्र र आदिलले ७६ रनको साझेदारी गरेका थिए। दीपेन्द्रले १८औं ओभरको सुरुआती तीन बलमा नोर्मन भानुआलाई लगातार तीन छक्का प्रहार गर्दै २९ बलमा अर्धशतक पूरा गरेका थिए। उनको यो टी२० आई करिअरको चौथो अर्धशतक हो। यता, युवा ब्याटर रोहित पौडेल २३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए।
ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ६.२ ओभरमा ४४ रनको साझेदारी गर्दै नेपाललाई मध्यम सुरुवात दिलाएका थिए। कुशल १७ रनमा क्याच भए। भुर्तेलले २ चौका प्रहार गरे।
आसिफले २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाए। पपुवा न्यू गिनीका आबुआ मोरेआले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। यता, राइली हेकुरेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।