काठमाडौं- घरेलु टोली नेपालले अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत लगातार दोस्रो जित हात पारेको छ।
बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो। यसअघि नेपालले पपुवा न्यू गिनीलाई १५ रनले हराएको थियोे। यता, मलेसियाको य पहिलो हार हो।
मलेसियाले पहिलो खेलमा पपुवा न्यू गिनीलाई ८ रनले हराएको थियोे।
बुधबार जितका लागि मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य पछ्छाएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन बनायो।
नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
२५ रन बनाउँदा २ विकेट गुमाएको नेपाललाई लागि आसिफ र दिपेन्द्रसिंह ऐरीको ७० रनको साझेदारी गर्दै जिततर्फ पुर्याएका थिए।
दिपेन्द्रले १७ बलमा १ छक्का र १ चौकासहित २१ रन बनाए। यता, रोहितकुमार पौडेलले १२ रन बनाए । डेब्यु खेलाडी दिलिप नाथले अविजित १५ रनको योगदान दिए। कुशल मल्ल २ रनमा अविजित रहे।
मलेसियाका पवनदिप सिंहले २, मुहमद अमिर र सेइद अजिजले समान १/१ विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनायो।
पहिलो बलमा विकेट गुमाएको मलेसियाका जुबाइदी जुल्किफ्ले र कप्तान अहमद फाजीले ४९ रनको साझेदारी गर्दै मलेसियालाई मध्यम सुरुआत दिलाए।
जुबाइदीले ३२ रन बनाए। उनले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यता, अहमदले ३८ बलमा ३ चौका प्रहार गर्दै २४ रन जोडे।
यता, मुहमद अमिरले १६, सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९ र विजय उन्नीले ३ रनको योगदान गरे।
नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिए। यता, करणले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए।
कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर १ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडेन राख्दै १४ रन दिएर १ विकेट लिए।
यता, अविनास बोहराले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।