काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को ओडिआई विश्व वरीयतामा दुई स्थान तल खस्किएको छ।
नेपालले घरेलु मैदान टियुमा यसै साता पपुवा न्यू गिनीसँग दुई ओडिआई खेलको सिरिज खेलेको थियो। उक्त सिरिजमा पपुवा न्यू गिनीले पहिलो खेलमा ६ रन र दोस्रो खेलमा ३ विकेटको जित निकाल्दै क्लिनस्विप गरेको थियो।
मंगलबार आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल १८औं स्थानमा पुगेको छ। यसअघि नेपाल १६ औं स्थानमा थियो।
ओडिआई मान्यता प्राप्त देशमा नेपालपछि अमेरिका १९औं र पपुवा न्यू गिनी २०औं स्थानमा छन्। ओमान भने १६औं स्थानमा छ भने नामिबिया १७औं छ। स्कटल्यान्ड १२औैं स्थानमा छन्। टेस्ट टोली जिम्बावे १३औं, नेदरल्यान्ड्स १४औं र युएई १५औं स्थानमा छ।
दुई साताअघि आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपाल घरेलु मैदानमा युएईसँग दुवै खेलमा पराजित भएको थियो। नेपाल युएईसँग ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो।
यता, नेपालले पपुवा न्यू गिनीलाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ७ विकेटले हराएको थियो।
वरीयतामा न्यूजिल्यान्ड शीर्षस्थानमा छ। इंग्ल्यान्ड दोस्रो, अस्ट्रेलिया तेस्रो, भारत चौथो, दक्षिण अफ्रिका पाँचौं, पाकिस्तान छैटौं र बंगलादेश सातौं स्थानमा छन्।
यता, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान १०औं स्थानमा छन्। आयरल्यान्ड ११औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।