काठमाडौं- मलेसियाले अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी-२० सिरिजमा पपुवा न्यू गिनीलाई पराजित गरेको छ। मंगलबार सम्पन्न खेलमा मलेसियाले पपुवा न्यू गिनीलाई ८ रनले पराजित गरेको हो।
जारी प्रतियोगितामा दुई खेल खेलको पपुवा न्यू गिनी जितविहिन छ। पहिलो खेलमा पपुवा न्यू गिनी घरेलुु टोली नेपालसँग १५ रनले पराजित भएको थियो।
मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पपुवा न्यू गिनीले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रन मात्र बनाउन सक्यो।
पपुवा न्यू गिनीको लागि टोनी उराले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै, नोर्मान भानुआले २५ बलमा २ चौका र ४ छक्कासहित ४५ रन बनाए।
अन्य ब्याटरले भने चल्न सकेनन्। सिमोन अटाइले १५ जोड्दा असाद भाला ११ रनमा आउट भए।
मलेसियाका लागि शर्भिन मुनियाण्डीले सर्वाधिक ४ विकेट लिए। यस्तै, मुहमद वाफिक र विरन्दिप सिंहले ३/३ विकेट लिए।
यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो।
मलेसियाका लागि कप्तान अहमद फाईज र विरन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले।
विरन्दिपले अविजित रहदै सर्वाधिक ५९ रन जोडे। उनले ५२ बलमा २ चौका र २ छक्का प्रहार गरे। यता, ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका अहमद ५६ रनमा आउट भए।
यस्तै, सायद अजिज ४७ रनमा आउट भए। उनले २६ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेन।
पपुवा न्यू गिनीका लागि नोर्मन भानुआले सर्वाधिक २ विकेट लिए। यता, नोसेन पोकानाले १ विकेट लिए। अब मलेसिया भोलि बुधबार नेपालसँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।