काठमाडौं- त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी त्रिकोणात्मक टी२० अन्तराष्ट्रिय श्रृङ्खलामा आज पपूवा न्यू गिनी (पीएनजी) र मलेसियाबीच खेल हुँदैछ। नेपालसमेत सहभागी श्रृङ्खलाको दोस्रो खेलमा पीएनजी र मलेसिया प्रतिश्पर्धा गर्न लागेका हुन्।
यी दुईबीचको खेल दिउँसो साढे १२ बजेदेखि सुरु हुनेछ। यसअघि हिजो भएको खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो। कप्तान सन्दीप लामिछानेले पहिलो पटक कप्तानी गरेको टी२० खेलमा नेपालले जित हात पारेको हो। उनको कप्तानीको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा पनि नेपालले जित हात पारेको थियो।
पहिलो खेलमा हार बेहारेको पीएनजी आज जितको खोजीमा हुनेछ। मलेसिया भने श्रृङ्खला जितबाट सुरु गर्ने दाउमा हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको विश्व वरीयतामा पीएनजी १९ र मलेसिया ३३ स्थानमा छन्। नेपाल १३औँ स्थानमा छ।
श्रृङ्खलामा तीन देशले एकअर्कासँग दुई दुई खेल खेल्नेछन्। अंक तालिकामा माथि हुने दुई टिमबीच फाइनल हुनेछ।
यसअघि कीर्तिपुरमै भएको नेपालविरुद्धको ओडीआई श्रृङ्खला पीएनजीले क्लिन स्वीप गरेको थियो। नेपालबाहिर भएका पहिला चार वटै ओडीआई हारेको पीएनजीले घरेलु मैदानमा त्यसको बदला लिँदै दुवै खेल जितेको थियो।
मलेसिया टी२०आई खेल्न एक वर्षपछि नेपाल आएको हो। २०२१ अप्रिलमा नेदरल्यान्डसमेत संलग्न टी२० आई खेल्न मलेसिया नेपाल आएको थियो। उक्त श्रृङ्खलाको फाइनलमा पुग्न मलेसिया असफल भएको थियो। उसले नेपाल र नेदरल्यान्डविरुद्धका कुनै पनि खेल जित्न सकेको थिएन। नेदरल्यान्डविरुद्धको एउटा खेल भने टाइ भएको थियो। उक्त श्रृङ्खला नेपालले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।