काठमाडौं– गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा विजयी सुरुवात गरेको छ। अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरातले लखनऊ सुपर जायन्ट्सलाई ५ विकेटले हराउँदै डेब्यू खेलमा रोमाञ्चक जित हात पारेको हो।
१ सय ५९ रनको विजयी लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। गुजरातको जितमा राहुल टेवाटियाले ४० रनको अविजित पारी खेले।
ओपनर सुभमन गिल शून्य र म्याथ्यु वेड ३० रनमा आउट भए । विजय शंकर ४, हार्दिक पान्ड्या ३३ र डेविड मिलेर ३० रनमा आउट भए।
लखनऊका दुश्मन्था चामिराले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आवेश खान, क्रुनाल पान्ड्या र दीपक हुडाले १–१ विकेट लिए।
त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो। लखनऊको लागि दीपक हुडाले ५५ रनको योगदान दिए । डेब्यू खेल खेलेका २२ वर्षीय आयुष बदोनीले ४१ बलमा ५४ रनको योगदान दिए।
गुजरातका मोहम्मद शामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। बरुण आरोनले २ र राशिद खानले १ विकेट लिए। लखनऊले अव बिहीबार चेन्नई सुपर किंग्ससँँग खेल्नेछ।
गुजरातले शनिबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ। आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।