काठमाडौं– आसिफ शेख र रोहितकुमार पौडेलको ८० रनको साझेदारीको मद्दतमा नेपालले टी२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा पपुवा न्यू गिनीलाई १८४ रनको विजयी लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको हो।
नेपालका लागि आसिफले सर्वाधिक ४३ रन बनाए। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यता, रोहितकुमार पौडेलले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए।
नेपालका ओपनर कुशल भुर्तेल २० रनमा आउट भएका थिए। ११ बलमा ३ चौका र १ छक्का प्रहार गरेका कुशललाई दोस्रो ओभरको तेस्रो बलमा चाद सोपरले रन आउट बनाए।
त्यसअघि इनिङ्सको दोस्रो बलमा उनी रन आउटबाट बचेका थिए। यता, आशिफ शेख ४३ रनमा आउट भए। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
तर, १–२५ को स्थितिमा क्रिजमा आएका रोहितले दोस्रो विकेटका लागि आसिफसँग मिलेर ८० रनको साझेदारी गरे।
त्यसअघि रोहितले व्यक्तिगत २९ रनमा ‘स्लिप’मा क्याच ‘ड्रप’ हुँदा जीवनदान पाएका थिए। आसिफ तीव्र गतिका बलर एली नाओको बलमा ‘एज’ लागेर विकेटकिपर शिमोन आतीबाट क्याच आउट भए।
१३औं ओभरको पहिलो बलमा रोहित चाद सोपरको बलमा विकेटकिपरबाटै क्याच आउट भए। यस्तै, १४औं ओभरको पहिलो बलमा ‘स्विच हिट सट’ खेलेका दीपेन्द्रसिंह ऐरी असाद भालाबाट ४ रनमा क्याच भए।
यस्तै, कुशल मल्ललाई रिले हेकुरेले ११ रनमा बोल्ड गरे। यता, तल्लो क्रमका लोकेश बम ५ र करण केसी १४ रनमा आउट भए। यता, सोमपाल कामी १ रनमा आउट भए भने कप्तान सन्दीप लामाछिने १ रनमा अविजित रहे।
पपुवा न्यू गिनीका अलेइ नाओ, चाद सोपर र चार्ल्स अमिनीले २/२ विकेट लिए। नोरमान भानुअ र रिले हेकुरेले १/१ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।