काठमाडौं– टी२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यू गिनीविरूद्व ब्याटिङ गरिरहेको घरेलु टोली नेपालले ७ विकेट गुमाएको छ।
टियु क्रिकेट मैदानमा पपुवा न्यू गिनीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङ उत्रिएको हो।
नेपालका ओपनर कुशल भुर्तेल २० रनमा आउट भएका थिए। ११ बलमा ३ चौका र १ छक्का प्रहार गरेका कुशललाई दोस्रो ओभरको तेस्रो बलमा चाद सोपरले रन आउट बनाए।
त्यसअघि इनिङ्सको दोस्रो बलमा उनी रन आउटबाट बचेका थिए। यता, आशिफ शेख ४३ रनमा आउट भए। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
लगत्तै २६ बलमा २ चौका र १ छक्का प्रहार गरेका रोहितकुमार पौडेल पनि ३४ रनमा आउट भए। रोहितले व्यक्तिगत २९ रनमा ‘स्लिप’मा क्याच ‘ड्रप’ हुँदा जीवनदान पाए। दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनको साझेदारी गरेका थिए।
आसिफ तीव्र गतिका बलर एली नाओको बलमा ‘एज’ लागेर विकेटकिपर शिमोन आतीबाट क्याच आउट भए।
१३औं ओभरको पहिलो बलमा रोहित चाद सोपरको बलमा विकेटकिपरबाटै क्याच आउट भए। यस्तै, १४औं ओभरको पहिलो बलमा स्विच हिट सट खेलेका दीपेन्द्रसिंह ऐरी असाद भालाबाट ४ रनमा क्याच भए।
यस्तै, कुशल मल्ललाई रिले हेकुरेले ११ रनमा बोल्ड गरे। यता, तल्लो क्रमका लोकेश बम ५ र करण केसी १४ रनमा आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।