फाइल तस्बिर
काठमाडौं– नेपालले टी२० आई त्रिकोणात्मक सिरिजमा पपुवा न्यू गिनीसँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा पपुवा न्यू गिनीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्।
प्रशिक्षक पबुदु दासानायकेले टोलीमा युवा खेलाडी कुशल मल्ल र लोकेश बमलाई पनि आजको खेलमा मौका दिएका छन्।
उनीहरू यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको ओडीआई टोलीमा थिएनन्। यस्तै, क्यानले रोहितकुमार पौडेललाई टी२० आई टोलीमा बोलाएको छ। पूर्वकप्तान ज्ञानेन्द्र मल्ल टोलीमा नपरेपछि उनलाई मध्यक्रम बलियो बनाउन बोलाइएको हो।
उनले तेस्रो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ। यसअघि रोहित ओडीआई टोलीमा मात्र थिए। पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका रोहितले पपुवा न्यू गिनीविरूद्वको पहिलो खेलमा १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको सानदार शतकीय इनिङ्स खेलेका थिए।
जुन नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको सर्वाधिक उच्च स्कोर हो। यसअघि पूर्वकप्तान पारस खड्काले १ सय ५ र पपुवा न्यू गिनीसँग नै दीपेन्द्रसिंह ऐरीले १ सय ५ रन बनाएका थिए।
रोहितले पपुवा न्यू गिनीसँगको दोस्रो खेलमा ३५ रन जोडेका थिए। अघिल्लो साता आईसीसी विश्वकप लिग–२ मा पनि रोहितले उच्च प्रदर्शन गरेका थिए। यूएई भ्रमणमा रोहितले पपुवा न्यू गिनीविरुद्ध ६०, यूएईविरुद्ध ४६ र पपुवा न्यू गिनीविरुद्ध दोस्रो खेलमा ४४ रनको अविजित इनिङ्स खेलेका थिए।
सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्ससँगको खेलपछि रोहित नेपालको टी२० आई टोलीमा थिएनन्। उक्त अन्तिम खेलमा रोहितले १५ रनको अविजित इनिङ्स खेलेका थिए।
रोहितले ओडिआईमा सुधारिएको प्रदर्शन गरेपनि टी२० आईमा बिर्सनलायक रेकर्ड छ। नेपालबाट ११ टी२० आई खेल खेलेका उनले ८० रन मात्रै बनाएका छन्। उनको उच्च प्रदर्शन १९ रन हो।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, लोकेश बम, कुशल मल्ल र रोहितकुमार पौडेल ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।