काठमाडौं– आईसीसी महिला विश्वकप प्रतियोगिताबाट भारत बाहिरिएको छ। दक्षिण अफ्रिकासँगको खेलमा ३ विकेटले पराजित भएपछि भारत विश्वकपबाट बाहिरिएको हो।
अन्तिम २ बलमा ३ रन बचाउन नसक्दा भारतले दक्षिण अफ्रिकासँग हार बेहोर्नु पर्यो। टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७४ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ७ विकेट गुमाएर अन्तिम ओभरमा २७५ रनको लक्ष्य पूरा गर्यो।
दक्षिण अफ्रिकाकी लोरा वल्भर्टले सर्वाधिक ८० रन बनाइन्। यस्तै, मिनोन डुप्रीले ५२ रन बनाइन्। दक्षिण अफ्रिकाविरुद्ध भारतका राजेश्वरी गायकवाड र हरमनप्रीत कौरले २/२ विकेट लिए।
भारतीय ब्याटर स्मृति मंधाना, शेफाली वर्मा र मिताली राजले हाफ सेञ्चुरी बनाएका थिए। ओपनिङ ब्याटर स्मृति र सेफालीले भारतलाई बलियो स्थानमा पुर्याएका थिए। स्मृतिले ८४ बलमा ७१ रन बनाएकी थिइन् भने शेफालीले ४६ बलमा ५३ रन बनाइन्।
शेफाली रन आउट भएपछि मैदान प्रवेश गरेकी यास्तिका भाटिया मात्र २ रन बनाएर आउट भइन्। त्यसपछि कप्तान मिताली राज र स्मृति मंधानाबीचको पार्टनरसिपबाट भारतले राम्रो योगफल तयार गर्न सकेको थियो। मितालीले ८४ बलमा ६८ रन बनाइन्।
भारत पराजित भएसँगै वेस्ट इन्डिज सेमिफइनल प्रवेश गरेको छ। अस्ट्रेलिया, दक्षिण अफ्रिका र इङ्ल्यान्ड यसअघि नै सेमिफाइनल पुगिसकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।