काठमाडौं– चीनको ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
नेपाल भ्रमणमा रहेका चिनियाँ राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थलको साँचो हस्तान्तरण गरे।
हस्तान्तरण समारोह भने भर्चुअल विधिबाट भएको हो। विमानस्थल हस्तान्तरण प्रयोजनका लागि आवश्यक व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले शनिबार पोखरा पुगेका थिए।
विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्री परराष्ट्रमन्त्री खड्कालाई हस्तान्तरण भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई मन्त्री आलेले कदरपत्र प्रदान गर्ने कार्यक्रम छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ। उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेशन, फिनिसिङ लगायतको काम छ। विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना सङ्क्रमणका कारण एक वर्षपछि भएको जनाइएको छ। उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ।
विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।