काठमाडौं– पाहुना टोली पपुवा न्यू गिनीले नेपालविरुद्धको दुई एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्वीप गरेको छ।
शनिबार दोस्रो खेलमा नेपाललाई ३ विकेटले हराउँदै पपुवा न्यू गिनीले सिरिज २-० ले जितेको हो।
शुक्रबार भएको पहिलो खेलमा पपुवा न्यू गिनीले नेपाललाई ६ रनले हराएको थियो।
शनिबारको खेलमा नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पपुवा न्यू गिनीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।
पपुवा न्यू गिनीको जितमा लेगा सियाकाले १ सय २ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ९० रनको योगदान दिए। सियाका ओडीआईमा दोस्रो शतक प्रहार गर्न १० रनले चुके।
राइली हेकुरे ४८ रनमा अविजित रहे। उनले ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। चाद सोपर १२ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे।
चौथो विकेटका लागि सेसे बाउ र लेगा सियाकाले १ सय १० रनको कीर्तिमानी शतकीय साझेदारी गर्दै पपुवा न्यू गिनीलाई जितको आधार तय गरेका थिए। पपुवा न्यू गिनीबाट सियाका र बाउ ओडीआईमा शतकीय साझेदारी गर्ने पहिलो जोडी बनेका छन्।
सेसे बाउ ३८ रनमा एलबीडब्लू आउट भए। उनले ६९ बलमा २ चौका प्रहार गरे। चार्ल्स अमिनी ३५ रनमा आउट भए। यता, हिरी हिरी १३ र नर्मन भानुवा ११ रनमा आउट भए।
नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ५४ रन खर्चेर १ विकेट लिए। सन्दीपले यससँगै ओडीआई करिअरको ५० औं विकेट पूरा गरे। उनी नेपालबाट ओडीआईमा ५० विकेट लिने पहिलो बलर हुन्। सन्दीप २२ खेलमा ५० विकेट लिने विश्वकै दोस्रो ओडीआई बलर बने।
सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए। पवन सरार्फले ८.४ ओभरमा १ मेडनसहित ४५ रन खर्चेर २ विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो।
खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ्स खेले। उनले १ सय ४० बल ७ चौका प्रहार गरे। दीपेन्द्र नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बनेका छन्।
नेपालले तेस्रो ओभरको सुरुआतमा ५ रन जोड्दा २ विकेट गुमाएको थियो। कुशल भुर्तेल खेलको पहिलो बलमै गोल्डेन डक भए। यता, अनिल शाह तेस्रो ओभरको पहिलो बलमा आउटसाइड एज लाग्दा किपरको हातबाट क्याच भए।
तेस्रो नम्बरमा आएका देव खनाल र चौथो नम्बरमा दीपेन्द्रले तेस्रो विकेटको लागि १ सय २९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई राम्रो स्तिथिमा पुर्याएका थिए।
देवले करिअरको पहिलो अर्धशतक प्रहार गर्दै ७२ रनको इनिङ्स खेले। उनले ८६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
यता, रोहित पौडेलले ३५ रनको योगदान दिँदा भीम शार्की २६ रनमा बोल्ड भए।
तल्लोक्रमका कप्तान सन्दीप लामिछाने आक्रामक २४ रन बनाए। उनी २ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे। नेपालका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
पपुवा न्यू गिनीका एली नाओले ९ ओभरमा १ मेडनसहित ४८ रन खर्चेर ३ विकेट लिए। यता, नर्मन भानुवाले १० ओभरमा ६४ रन खर्चेर २ विकेट लिए। चाद सोपर र चाल्स अमिनीले १–१ विकेट लिए।
अब नेपाल, मलेसिया र पपुवा न्यू गिनीबीच त्रिकोणात्मक टी२० आई सिरिज हुनेछ। नेपालले सोमबार पपुवा न्यू गिनीसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।