काठमाडौं– नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा ५० विकेट पूरा गरेका छन्।
त्रिवि क्रेकेट मैदानमा पपुवा न्यू गिनीविरुद्धको दोस्रो तथा अन्तिम ओडीआई खेलमा चार्ल्स अमिनीलाई एलबीडब्लू धरापमा पार्दै सन्दीपले ओडीआईमा ५०औं विकेट पूरा गरेका हुन्। योसँगै ओडीआईमा ५० विकेट लिने उनी पहिलो नेपाली क्रिकेटर बनेका छन्।
सन्दीपले २२औँ ओडीआईमा ५० विकेटको कोशेढुंगा भेट्टाएका हुन्। उनी नेपालले अहिलेसम्म खेलेका सबै २२ ओडीआई खेल्ने एक मात्र खेलाडी पनि हुन्। उनले २२ ओडीआईमध्ये २१ इनिङ्समा बलिङ गरेका छन्।
उनीपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १९ ओडीआई खेलेका छन्। मल्ल विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईमा भएको पपुवा न्यू गिनीविरुद्धको खेलमा पहिलो पटक अन्तिम–११ बाट बाहिरिएका थिए।
सन्दीपले बलिङ गरेका २१ इनिङ्समा दुई पटक मात्र विकेटविहीन भएका छन्। उनको इकोनोमी ३.८१ छ। उनी नेपालबाट सबैभन्दा बढीपटक एकै खेलमा पाँच वा त्यसभन्दा धेरै विकेट लिने खेलाडी पनि हुन्। उनले दुईपटक यो उपलब्धि हासिल गरेका छन्। ओमानमा २०२१ सेप्टेम्बर १० मा भएको पीएनजीविरुद्धको ओडीआईमा ६/११ को प्रदर्शन उनको र कुनै पनि नेपाली बलरको सर्वोत्कृष्ट हो। उनले ६ पटक एउटै खेलमा चारभन्दा बढी विकेट लिएका छन्।
उनीपछि सबैभन्दा बढी विकेट लिनेको सूचीमा सोमपाल कामी र करण केसी छन्। सोमपालले आजको सहित १८ खेलमा ३० विकेट लिएका छन् भने करणले १८ खेलमा २७ विकेट लिएका छन्।
सन्दीपले कप्तानी गरेका पछिल्ला ६ खेलमा नौ विकेट लिएका छन्। उनी घरेलु मैदानमा भने उति प्रभावशाली छैनन्। कीर्तिपुरमा भएका ओडीआईमा सबैभन्दा सफल बलर सुशन भारी हुन्। उनले चार खेलमा १५ विकेट लिएका छन्। तर, आज उनी बेञ्चमा छन्।
सन्दीपले भने कीर्तिपुरको मैदानमा ६ खेल खेल्दै १० विकेट लिएका छन्। अर्का बलर करण केसीले पनि चार खेलमा ८ विकेट लिएका छन्। तर, चालु ओडीआई श्रृङ्खलामा करणलाई टिमबाहिर राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।