काठमाडौं- धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ। कर्णाली प्रदेशलाई तीन विकेटले पराजित गर्दै गण्डकीले प्रतियोगिताको उपाधि जितेको हो।
उपाधि विजेता गण्डकीले दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता कर्णाली प्रदेशले एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। पैसठ्ठी रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको गण्डकीले १७.३ ओभरमा सात विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि ज्योत्सनिका मरासिनीले ११ र सृजना पौडेल तथा आङ्पेम्बलुम्बा सेर्पाले समान नौ/नौ रन बनाइन्।
बलिङतर्फ कर्णालीकी श्रीमीसिं थारूले चार विकेट लिइन्। उसकी विना थापाले दुई र एन्जीला थापाले एक विकेट लिइन्। त्यसअघि कर्णालीको पारि किरणकुमारी कुँवरले एक्लै सम्हालिन्। सतसठ्ठी बलको सामना गरेकी उनले टोलीलाई २९ रनको योगदान दिइन्। बलिङतर्फ गण्डकीका लागि आकृति तिवारीले दुई र मनीषा उपाध्याय तथा ज्योत्सनिका मरासिनीले समान एक÷एक विकेट लिइन्। खेलको ‘प्लेयर अफ दी म्याच’ गण्डकीकी ज्योत्सनिका मरासिनी भइन्।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी गण्डकीकी ज्योत्सनिका मरासिनी भइन्। उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरिन्। सर्वोत्कृष्ट बलर कर्णालीकी एन्जीला थापा र उत्कृष्ट ब्याटर बागमतीकी हेलिशा गुरुङ भइन्। उनीहरूले जनही १०/१० हजार प्राप्त गरिन्। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा सात प्रदेशका यू–१९ महिला क्रिकेट टोलीको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।