काठमाडौं– रोहित पौडेलले पपुवा न्यू गिनी (पीएनजी) विरुद्धको पहिलो ओडीआईमा शतक बनाएका छन्। उनले ९१ बलमा शतक पूरा गरे। कुनै पनि नेपाली खेलाडीले घरेलु मैदान कीर्तिपुरमा बनाएको यो पहिलो शतक हो।
रोहित पारस खड्कापछि शतक बनाउने दोस्रो नेपाली खेलाडी हुन्। सन् २०१९ मा युएईविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा शतक बनाउदै पारसले ऐतिहासिक उपलब्धि हाँसिल गरेका थिए। शतक बनाउने क्रममा पारसले १३ चौका र १ छक्का प्रहार गरेका थिए।
आज आक्रामक खेलेका रोहितले शतक बनाउन सात चौँका र दुई छक्का प्रहार गरे। उनको यो १६औँ ओडीआई हो। उनी ओडीआईमा ज्ञानेन्द्र मल्लसँगै सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन्। दुवैले चार चार अर्धशतक बनाएका छन्।
रोहितको शतकसँगै ठूलो लक्ष्य पछ्याइरहेको नेपालले सम्हालिएर ब्याटिङ गरिरहेको छ। रोहित अहिले ६१ बलमा ५७ रन बनाएर खेलिरहेका छन्। क्रिजमा रोहितलाई पवन सर्राफले साथ दिइरहेका छन्। अहिले नेपालले ४२ ओभरमा पाँच विकेट क्षतिमा २३१ रन बनाएको छ।
यसअघि नेपालले खराब सुरुवात गरेको थियो। नेपालका लागि ओपनर अनिल साहले ६ र कुशल भुर्तेलले ३२ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए। सम्हालिएर ब्याटिङ गरेका आरिफले ३४ रन बनाए। ओडीआईमा पहिलो पटक ब्याटिङ गर्न पाएका भीम सार्कीले १७ रन बनाए।
यसअघि रोहितले एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) मा ५०० रन पनि पूरा गरे। उनी ५०० रनको कोशेढुंगा भेटाउने उनी पहिलो क्रिेकटर बनेका छन्।
पीएनजीविरुद्ध ३८ रन बनाउँदा उनले ५०० रन पूरा गरेका हुन्। असद भालाको स्पिनमा चौका प्रहार गर्दै उनले ५०० रन पूरा गरेका थिए। उनले १६औँ ओडीआईमा यो उपलब्धि हासिल गरेका हुन्।
ओडीआईमा उनले ७०.९६ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनको औषत ३५.५३ छ। यसअघि एकै ओडीआईमा उनको उच्च रन ८६ थियो। उनी १६ वटा ओडीआई खेल्दा एक पटक मात्र डकआउट भएका थिए। त्यसैगरी ६ पटक १० भन्दा कम रनमा आउट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।