फाइल तस्बिर
काठमाडौं– रोहित पौडेलले पीएनजीविरुद्ध अर्धशतक पूरा गरेका छन्। उनले ५४ बलमा अर्धशतक पूरा गरेका हुन्।
उनको अर्धशतकसँगै ठूलो लक्ष्य पछ्याएको नेपालले सम्हालिएर ब्याटिङ गरिरहेको छ। रोहित अहिले ६१ बलमा ५७ रन बनाएर खेलिरहेका छन्। क्रिजमा रोहितलाई आरिफ सेखले साथ दिइरहेका छन्। आरिफ सेख ४९ बलमा २४ रन बनाएर खेलिरहेका छन्। नेपालले ३० ओभरमा चार विकेट क्षतिमा १४६ रन बनाएको छ।
यसअघि नेपालले खराब सुरुवात गरेको थियो। नेपालका लागि अनिल साहले ६, दीपेन्द्रसिंह ऐरीले १५ र कुशल भुर्तेलले ३२ रन बनाए। डेब्यु गरेका देव खनाल भने शून्य रनमा नै बाहिरिए।
रोहित ओडीआईमा नेपालबाट सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि भएका छन्। १६औँ खेलमा उनको यो पाँचौँ अर्धशतक हो। ज्ञानेन्द्र मल्लले चार वटा अर्धशतक बनाएका छन्।
यसअघि रोहितले एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) मा ५०० रन पनि पूरा गरे। उनी ५०० रनको कोशेढुंगा भेटाउने उनी पहिलो क्रिेकटर बनेका छन्।
घरेलु मैदान कीर्तिपुरमा भइरहेको पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध भइरहेको ओडीआईमा ३८ रन बनाउँदा उनले ५०० रन पूरा गरेका हुन्। असद भालाको स्पिनमा चौका प्रहार गर्दै उनले ५०० रन पूरा गरेका थिए। उनले १६औँ ओडीआईमा यो उपलब्धि हासिल गरेका हुन्।
ओडीआईमा उनले ७०.९६ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनको औषत ३५.५३ छ। उनको एकै ओडीआईमा उच्च रन ८६ हो। उनी १६ वटा ओडीआई खेल्दा एक पटक मात्र डकआउट भएका थिए। त्यसैगरी ६ पटक १० भन्दा कम रनमा आउट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।