काठमाडौं– ब्याटर रोहित पौडेलले एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) मा ५०० रन पूरा गरेका छन्। ५०० रनको कोशेढुंगा भेटाउने उनी पहिलो क्रिेकटर बनेका छन्।
घरेलु मैदान कीर्तिपुरमा भइरहेको पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध भइरहेको पहिलो ओडीआईमा ३८ रन बनाउँदै उनले ५०० रन पूरा गरेका हुन्। असद भालाको स्पिनमा चौका प्रहार गर्दै उनले ५०० रन पूरा गरे। उनले १६औँ ओडीआईमा यो उपलब्धि हासिल गरेका हुन्।
ओडीआईमा उनले ७०.९६ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनको औषत ३५.५३ छ। उनको एकै ओडीआईमा उच्च रन ८६ हो। उनी १६ वटा ओडीआई खेल्दा एक पटक मात्र डकआउट भएका थिए। त्यसैगरी ६ पटक १० भन्दा कम रनमा आउट भएका छन्।
रोहितले अहिलेसम्म चार वटा अर्धशतक पनि बनाएका छन्। नेपालबाट उनीसहित ज्ञानेन्द्र मल्लले ओडीआईमा सर्वाधिक चार अर्धशतक बनाएका छन्। १९ ओडीआई खेलका ज्ञानेन्द्रले भने ४८० रन बनाएका छन्।
१० ओडीआई मात्र खेलेका पारस खड्का अझ पनि सर्वाधिक रन बनाउने नेपाली खेलाडीको तेस्रो नम्बरमा छन्। उनले ३१५ रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।