फाइल तस्बिर
काठमाडौं- पपुवा न्यू गिनीले पहिलो ओडिआई खेलमा प्रस्तुत गरेको २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ सुरुआत गरेको छ।
नेपालले १५.३ ओभरमा ४ विकेट गुमाउँदै ८० रन बनाएको छ। ओपनर अनिल शाह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ३६ रनको साझेदारी गरेका थिए।
तर, तीव्र गतिका बलर नर्मन भानुआले अनिललाई सेसे बाउटबाट ६ रनमा क्याच आउट गराए। सन् २०१८ मा नेपालले ओडिआई मान्यता पाएसँगै नेदरल्यान्डविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका अनिलले ३२ बलमा ३ चौकासहित २१ रन बनाएका थिए। त्यसपछि उनी राष्ट्रिय टोलीमा पर्न सकेका थिएनन्।
नवौं ओभरको अन्तिम बलमा डेब्यू खेल खेलेका देव खनाल शून्यमा क्याच आउट भए। नोसिना पोकनाको बलमा ठूलो सट खेल्ने क्रममा मिडअनमा देव हिरी हिरीबाट क्याच आउट भए।
घरेलु प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका देवले यसै खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्। गत पुसमा यू–१९ राष्ट्रिय प्रतियोगितामा देवले लुम्बिनी प्रदेशलाई च्याम्पियन बनाउन ७ खेलमा ४ अर्धशतकका साथ ३ सय ३४ रन बनाएका थिए।
यता, दुई महिना अघि सम्पन्न प्रधानमन्त्री कप टी२० राष्ट्रिय प्रतियोगितामा ४ खेलमा १ सय ५८ रन बनाउँदै चौथो स्थानमा थिए।
१० औं ओभरको पहिलो बलमा भानुआले भुर्तेललाई ३२ रनमा बोल्ड आउट गरे। भुर्तेल २८ बलमा ६ चौका प्रहार गरे। ३–४५ को स्थितिमा ब्याटिङमा आएका युवा ब्याटर दीपेन्द्रसिंह ऐरी पनि सम्हालिन सकेनन्।
उनलाई १२औं ओभरको तेस्रो बलममा चार्ल्स अमिनीले जोशन किलाबाट क्याच गराए। दीपेन्द्रले १७ बलमा ३ चौकासहित १५ रन बनाए।
यसअघि आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पनि दीपेन्द्रले खराब खेल प्रदर्शन गरेका थिए। पपुवा न्यू गिनीविरुद्धकै खेलमा दीपेन्द्रसिंह चाद सोपरबाट शून्यमा आउट भए। दीपेन्द्र युएईसँगको दोस्रो खेलमा गोल्डेन डक आउट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।