फाइल तस्बिर
काठमाडौं– युवा ब्याटर देव खनालले पपुवा न्यू गिनीसँग हुने पहिलो ओडिआई खेलमा नेपाली टोलीमा डेब्यू गरेका छन्। शुक्रबार टियु मैदानमा कप्तान सन्दीप लामिछानेले देवलाई डेब्यू क्याप दिएका हुन्।
गत पुसमा यू–१९ राष्ट्रिय प्रतियोगितामा देवले लुम्बिनी प्रदेशलाई च्याम्पियन बनाउन ७ खेलमा ४ अर्धशतकका साथ ३ सय ३४ रन बनाएका थिए।
यता, दुई महिना अघि सम्पन्न प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा ४ खेलमा १ सय ५८ रन बनाउँदै चौथो स्थानमा थिए।देवले कुशल भुर्तेलका साथ ओपनिङ गर्नेछन्।
पपुवा न्यू गिनीसँग पहिलोपटक घरेलु मैदानमा हुन लागेको खेलमा नेपाल लगातार छैटौं जित हात पार्ने सोचमा छ। सन् २०१८ मा नेपालले एकदिवसीय विश्वकप छनोटमा जिम्बावेलाई ६ विकेटले हराउँदै ओडिआई मान्यता पाएको थियो। त्यसयता नेपालले पपुवा न्यू गिनीसँग हार बेहोरेको छैन।
ओडिआईमा नेपाल र पपुवा न्यू गिनीबीच हालसम्म चार खेल भएका छन्। चारै खेलमा नेपाल विजयी भएको छ। यसै साता नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्यू गिनीलाई २ विकेट र ७ विकेटले हराएको थियो।
गत असोजमा दुवै ओडिआई खेलमा नेपाल २ विकेट र १ सय ५१ रनले हराएको थियो। नेपाल राष्ट्रिय टोलीले घरेलु मैदानमा दुई वर्षपछि ओडिआई खेल खेल्न लागेको हो।
यसअघि नेपालले सन् २०२० मा आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग खेलेको थियो। अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।