काठमाडौं- महिला एकदिवसीय विश्वकपमा पाकिस्तानमाथि जित निकाल्दै इंग्ल्यान्डले सेमिफाइनलको आशा कायम राखेको छ।
बिहिबार भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानीमाथि ९ विकेटको प्रभावशाली जित निकाल्दै अन्तिम चारको आशा कायमै राखेको हो।
पाकिस्तानले दिएको १ सय ७ रनको मध्यम लक्ष्य इंग्ल्यान्डले १९.२ ओभरमानै १ विकेट गुमाएर पूरा गर्यो।
इंग्ल्यान्डका लागि डेनि वायटले सर्वाधिक ७६ रन जोडिन। यता कप्तान हेथर नाइटले २४ रनको अविजत इनिङ्स खेलिन्। यसअघि ओपनर टेमि बेमौउट भने २ रनमानै आउट भएकी थिइन्।
त्यसअघि क्राइसचर्चमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले ४१.३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियोे।
पाकिस्तानका लागि सिद्रा अमिनले सर्वाधिक ३२ रन बनाउँदा सिद्रा नवाजले २३ रनको योगदान दिइन्।
यता, ओमइमा सोहलीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। इंग्ल्यान्डका कथरिना ब्रन्ट र सोफि एक्लेस्टोनले समान ३-३ विकेट लिए।
अब समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले बंगलादेशको सामना गर्ने छ। उक्त खेलमा जित निकाले इंग्ल्यान्ड अन्तिम चारमा प्रवेश गर्ने छ।
पराजित भएमा भारत र दक्षिण अफ्रकाको नतिजा कुर्नुपर्ने छ। अन्तिम खेल अघि सम्म इंग्ल्यान्ड र भारत समान ६-६ अंकका आधारमा चौंथो र पाँचौ स्थानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।