काठमाडौं- धनगढीमा जारी मुख्यमन्त्रीकप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार भएको खेलमा गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ। आफ्नो समूह चरणको अन्तिम खेलमा मधेस प्रदेशलाई २० रनले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो।
फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०७ रनको योगफल तयार पार्यो। १०८ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा छ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो।
मधेश प्रदेशका लागि एलिशा यादवले अविजित ३१ र साना प्रवीणले २१ रन बनाइन्। बलिङतर्फ गण्डकीकी कुसुमगोदरले दुई र ज्योत्स्नीका मरासिनी तथा आकृति तिवारीले समान एक/एक विकेट लिए।
त्यसअघि गण्डकीका लागि ज्योत्स्नीका मरासिनीले ३४ बलमा आठ चौकाको मद्दतले ४३ रनको पारी खेलिन्। उसका आङ्पेम्बलुम्बा शेर्पाले १७ रन बनाइन्। बलिङतर्फ मधेस प्रदेशकी प्रतिमा शाह, साना प्रविन र विमला मगरले समान दुई/दुई विकेट लिए। खेलको ‘प्लेयर अफ दी म्याच’ ज्योत्स्नीका मरासिनी चुनिइन्।
दोस्रो खेलमा सान्त्वना जीत निकालेको लुम्बिनी प्रदेशले कर्णाली प्रदेशको फाइनल यात्रामा अङ्कुश लगाइदिएको छ। यो खेल जितेको खण्डमा आफ्नो समूह चरणको एक खेलअगावै समूह विजेता बनेर कर्णाली प्रदेशलाई फाइनल प्रवेश गर्ने अवसर थियो। तर लुम्बिनी प्रदेशसँग पाँच विकेटले पराजित भएको कर्णालीले अब बिहीबारको खेल कुर्नुपर्ने भएको छ। टस जितेर ब्याटिङ थालेको कर्णालीले १९.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७२ रन बनायो।
७३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लुम्बिनीले १४.३ ओभरमै पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो। लुम्बिनीका लागि रञ्जु श्रेष्ठले २९ रनको योगदान दिइन्। बलिङतर्फ कर्णालीकी अञ्जली थापा र तिर्सना विश्वकर्माले समान दुई/दुई विकेट लिए। त्यसअघि कर्णालीका लागि किरणकुमारी कुँवरले २१ रन बनाउनुबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ लुम्बिनीलाई सान्त्वना जीत दिलाउन आष्मा पुलामीमगरले ४ ओभर बलिङ गर्दै एक मेडनसहित छ रन खर्चेर तीन महत्वपूर्ण विकेट लिइन्। उनी खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्।
समूह चरणको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम र बागमती प्रतिस्पर्धा गर्नेछन्। एक/एक जीत मात्रै निकालेका यी दुई टोलीमध्ये विजेता टोलीले कर्णाली प्रदेशसँग अङ्क बराबरी गर्नेछन्। उक्त खेलपछि रन रेटका आधारमा गण्डकी प्रदेशसँग उपाधि भिडन्त गर्ने टोलीको टुङ्गो लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।