काठमाडौं- दक्षिण अफ्रिकाका ब्याट्सम्यान जुबैर हम्जाको डोपिङ परीक्षण रिपोर्ट पोजिटिभ आएको छ। आईसीसीको एन्टी डोपिङ कोडअन्तर्गत प्रतिबन्धित पदार्थको परीक्षण गर्दा पोजिटिभ देखिएको हो।
हम्जाले परीक्षणपछि आईसीसीलाई सहयोग गरिरहेका छन्। उनले आईसीसीमा लिखित निवेदन दिएपछि तत्काल निलम्बन प्रक्रियामा स्वेच्छाले सहमति जनाएका हुन्।
हम्जाको फुरोसेमाइडको परीक्षण पोजिटिभ आएको हो। जुन प्रदर्शनलाई बढाउने पदार्थ नभएको क्रिकेट दक्षिण अफ्रिकाको विज्ञप्तिमा उल्लेख छ ।
उनले आफ्नो शरीरमा उक्त पदार्थ कसरी आयो भनेर आफू जानकार नभएको बताएका छन्। यसलाई प्रमाणित गर्न उनले कुनै गल्ती वा लापरबाही नभएको प्रमाण पेस गर्नुपर्नेछ।
२६ वर्षीय हम्जाले २०१९ को सुरुमा पाकिस्तानविरुद्ध आफ्नो टेस्ट डेब्यू गरेका थिए। दक्षिण अफ्रिकाबाट खेल्ने उनी १००औं टेस्ट खेलाडी हुन्।
उनले गत वर्ष नोभेम्बरमा नेदरल्याण्ड्सविरुद्ध ५६ रन बनाएर एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए। कोरोनाको ओमिक्रोन भेरियन्टका कारण यो सिरिज रद्द गर्ने निर्णय गरिएको थियो।
हम्जाले दक्षिण अफ्रिकाका लागि ६ टेस्ट खेलेका छन्। व्यक्तिगत कारणले उनी बंगलादेशविरुद्धको टेस्ट र एकदिवसीय सिरिजका लागि छनोट भएनन्।
दक्षिण अफ्रिकाको टोली बंगलादेशसँगको एकदिवसीय सिरिज खेल्दै छ। तीन खेलको एकदिवसीय सिरिजमा अहिलेसम्म दुई खेल खेलिएको छ। तेस्रो खेल बुधबार हुँदैछ । यसपछि दुई टोलीबीच दुई टेस्ट खेल पनि हुने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।