काठमाडौं– रुकुमको मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा रहेको विद्युत सव स्टेशनको उद्घाटन गरिएको छ। सोमबार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले संयुक्त रुपमा ३३ केभी क्षमताको उक्त सव स्टेशनको औपचारिक उद्घाटन गरेका हुन्।
सब स्टेशन यसअघि नै संचालनमा आए पनि सोमबार एक औपचारिक समारोहका बीच उदघाटन गरिएको हो। निर्माण कार्य सम्पन्न भएपछि गत फागुन २ गतेदेखि उक्त सब स्टेशनबाट विद्युत् सेवा प्रवाह सुरु भएको थियो।
चार वर्षअघि सव स्टेशन निर्माणको काम सुरु गरिएकोमा कोभिड लगायतका कारणले तोकिएको समयभन्दा केही ढिला गरी निर्माण सकिएको थियो।
यसअघि जिल्लामा सल्यानको शितलपाटी सव स्टेशनबाट विद्युत आपुर्ति भइरहेको थियो। जहाँ ११ केभीको प्रशारण लाइन झण्डै ८० किलोमिटर दुरी पार गरेर जिल्लामा ल्याउँदा त्यतिबेलाको बिद्युत सेवा भरपर्दो थिएन।
जिल्ला मै सव स्टेशन निर्माण भई संचालनमा आएपछि भने भोल्टेजको समस्या र अनियमित हुने समस्यामा कमि आएको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ।
जिल्लाका ७३ वडामध्ये ५२ वटा वडामा बिद्युत पुगेको नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।