काठमाडौं- आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले प्रस्तुत गरेको मध्यम लक्ष्य पछ्याएको नेपाल हारनजिक पुगेको छ।
२ सय ३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३४ ओभरमा ८ विकेट गुमाउँदै १०२ रन बनाएको छ। नेपालले ओपनिङ जोडीमा परिवर्तन गर्दै कुशल भुर्तेल र पवन सरार्फलाई पठाएको थियो। नेपालले नियमित ओपनर आसिफ शेखलाई बेन्चमा राख्दै पवनलाई ओपनरमा उतारेको हो।
तर, जोडी जम्न सकेन। काशिफ दाउदको दोस्रो ओभरको दोस्रो बलमा भुर्तेल अहमद राजाबाट ५ रनमा क्याच आउट भए।
यता, पवनलाई जुनैद्द सिद्दिकले तेस्रो ओभरको दोस्रो बलमा विकेटकिपर वृत्य अरविन्दबाट २ रनमा क्याच भए। लगत्तै अर्को बलमा दीपेन्द्रसिंह ऐरी गोल्डेन डक आउट भए। दीपेन्द्र पहिलो बलमै एज लागेर वृत्यबाट क्याच आउट हुँदा नेपाल २.३ ओभरमा ३–८ को स्थितिमा थियो।
त्यसपछि कृजमा आएका रोहितकुमार पौडेल पनि जम्न सकेनन्। कासिफ दाउदको आठौं ओभरको अन्तिम बलमा पौडेल बासिल हामिदबाट ९ रनमा क्याच भए।
यता, पाँचौं विकेटका लागि आरिफ शेख र ज्ञानेन्द्र मल्लले ३३ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने कोसिस गरेका थिए।
तर, २०औं ओभरको चौथो बलमा ठूलो सट खेल्ने क्रममा रोहन मुस्ताफाबाट क्याच आउट भए। आरिफले ४० बलमा १ चौकासहित १५ रन बनाए।
ज्ञानेन्द्र मल्ल ६४ बलमा १ चौकासहित २६ रनमा एलबीडब्लू आउट भए। उनी कप्तान अहमद राजको बलमा एलबीडब्लू आउट हुन पुगे।
यता, विनोद भण्डारी १२ रनमा आउट भए भने करण केसीले ४ रन बटुले।
त्यसअघि घरेलु मैदान दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको युएईले अनुभवी बायाँ हाते अलराउन्डर रोहन मुस्तफाको अर्धशतकीय इनिङ्समा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन २०२ रन बनाएको थियो।
युएईका मुस्तफा ७३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाए। मुस्तफाले ६४ बलमा ओडिआई करिअरको चौथो अर्धशतक पूरा गरेका हुन्। जारी त्रिकोणात्मक सिरिजमा उनको लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले पपुवा न्यू गिनीविरुद्ध ८८ रनको इनिङ्स खेलेका थिए। उनलाई ४५औं ओभरको चौथो बलमा सोमपाल कामीले बोल्ड आउट गरेका थिए।
युएईले ५७ रन बनाउँदा १६ औं ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको थियो। युएईका ओपनर मोहम्मद वासिम ३३ रनमा आउट भए। उनलाई १५औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले एडबीडब्लू आउट गराएका थिए। वासिमले आउट हुनुपूर्व ५१ बलमा २ चौका र १ छक्का प्रहार गरे।
उनले पहिलो पावर प्लेमा चिराग सुरीसँग मिलेर ५७ रनको साझेदारी गरेका थिए। सुरीले १८औं ओभरको पहिलो बलमा क्याच आउट भए। उनी फास्ट बलर करण केसीको बललाई ब्याक साइडमा कट आउट गर्ने क्रममा विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट भएका हुन्।
आउट हुनुपूर्व उनले ५४ बल खेल्दै ३ चौकाका साथ २६ रन बनाए। यता, २२औं ओभरको पहिलो बलमा स्पिनर दीपेन्द्रसिंह ऐरीले सिपी रिजवानलाई ४ रनमा विनोदबाट क्याच गराए।
२२औं ओभरमा ७३–३ मा रहेको युएईले त्यसपछि पुनरागमन गर्ने कोसिस गरेको थियो. तर, ३१औं ओभरको दोस्रो बलमा युवा ब्याट्सम्यान वृत्य अरविन्द २४ रनमा आउट भए। उनलाई आरिफ शेखले बोल्ड गरे। उनले आउट हुनुपूर्व ४५ बलमा १ चौका प्रहार गरे।
यता, ४२औं ओभरको दोस्रो बलमा स्वीप सट खेलेका बासिल हामिद आउट साइड एज लागेर १७ रनमा कट एण्ड बोल्ड आउट भए। उनको प्रहार सन्दीपले सहजै नियन्त्रणमा लिएका थिए। उनी आउट भएपछि युवा ब्याटर अलिशान शराफुले १३ बलमा ३ चौकासहित २१ रन बनाए क्याच आउट भए। अन्य ब्याटरले भने गतिलो खेल प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि सन्दीपले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित ३२ रन खर्चिएर ३ विकेट लिएका हुन्। यता, तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले २/२ विकेट लिए। दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको हातमा भने १/१ विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।