काठमाडौं- अनुभवी बायाँ हाते अलराउन्डर रोहन मुस्तफाको अर्धशतकीय इनिङ्समा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)ले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज नेपाललाई २०३ रनको लक्ष्य दिएको छ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनाएको हो। युएईका मुस्तफा ७३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाए।
मुस्तफाले ६४ बलमा ओडिआई करिअरको चौथो अर्धशतक पूरा गरेका हुन् । जारी त्रिकोणात्मक सिरिजमा उनको लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले पपुवा न्यू गिनीविरुद्ध ८८ रनको इनिङ्स खेलेका थिए। उनलाई ४५औं ओभरको चौथो बलमा सोमपाल कामीले बोल्ड आउट गरेका थिए।
युएईले ५७ रन बनाउँदा १६ औं ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको थियो। युएईका ओपनर मोहम्मद वासिम ३३ रनमा आउट भए। उनलाई १५औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले एडबीडब्लू आउट गराएका थिए। वासिमले आउट हुनुपूर्व ५१ बलमा २ चौका र १ छक्का प्रहार गरे।
उनले पहिलो पावर प्लेमा चिराग सुरीसँग मिलेर ५७ रनको साझेदारी गरेका थिए। सुरीले १८औं ओभरको पहिलो बलमा क्याच आउट भए। उनी फास्ट बलर करण केसीको बललाई ब्याक साइडमा कट आउट गर्ने क्रममा विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट भएका हुन्।
आउट हुनुपूर्व उनले ५४ बल खेल्दै ३ चौकाका साथ २६ रन बनाए। यता, २२औं ओभरको पहिलो बलमा स्पिनर दीपेन्द्रसिंह ऐरीले सिपी रिजवानलाई ४ रनमा विनोदबाट क्याच गराए।
२२औं ओभरमा ७३–३ मा रहेको युएईले त्यसपछि पुनरागमन गर्ने कोसिस गरेको थियो. तर, ३१औं ओभरको दोस्रो बलमा युवा ब्याट्सम्यान वृत्य अरविन्द २४ रनमा आउट भए। उनलाई आरिफ शेखले बोल्ड गरे। उनले आउट हुनुपूर्व ४५ बलमा १ चौका प्रहार गरे।
यता, ४२औं ओभरको दोस्रो बलमा स्वीप सट खेलेका बासिल हामिद आउट साइड एज लागेर १७ रनमा कट एण्ड बोल्ड आउट भए। उनको प्रहार सन्दीपले सहजै नियन्त्रणमा लिएका थिए। उनी आउट भएपछि युवा ब्याटर अलिशान शराफुले १३ बलमा ३ चौकासहित २१ रन बनाए क्याच आउट भए। अन्य ब्याटरले भने गतिलो खेल प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि सन्दीपले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित ३२ रन खर्चिएर ३ विकेट लिएका हुन्। यता, तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले २/२ विकेट लिए। दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको हातमा भने १/१ विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।