काठमाडौं- घरेलु टोली युएईमाथि ६ विकेटको सनसनीपूर्ण जित दर्ता गर्दै पपुवा न्यू गिनीले आईसीसी विश्वकप लिग–२ मा आफ्नो पहिलो जित दर्ता गराएको छ। यसअघि खेलेका १४ खेलमा जितविहिन रहेको पपुवा न्यू गिनीको जारी प्रतियोगितामा यो पहिलो जित हो।
बलर अलेई नाओले र चाद सोपरले घातक बलिङमा युएईले दिएको १४८ रनको लक्ष्य पपुवा न्यू गिनीले ३६.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्यो।
पपुवा न्यू गिनीलाई पहिलो जित दिलाउन उसका कप्तान असद भालाले अर्धशतकीय इनिङ्स खेले। भालाले ९७ बलमा ६ चौकासहित अविजित ६८ रनब बनाए। यता, चाल्स अमिनीले ३६ रन बनाए।
तेस्रो विकेटका लागि अमिनी र भालाले ७१ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए। ओपनर टोनी उरा र लेगा सियाका १०–१० रनमा आउट भए। युएईका कासिफ दाउद, अहमद राजा र रोहन मुस्तफाले १/१ विकेट लिए।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १६ रनमा पाँच विकेट गुमाएर निकै खराब सुरुआत गरेको थियो। तर, रोहण मुस्तफाले अर्धशतकीय इनिङ्स खेल्दै १४७ रनको मध्यम प्रस्तुत गरे।
युएईको लागि छैटौं नम्बरमा ब्याटिङ गर्न आएका मुस्तफा एक्लैले ८८ रन प्रहार गरे। अन्तिम बलमा आउट भएका उनले १४४ बलमा ११ चौका र एक छक्का प्रहार गरे।
३६.३ ओभरमा ७७ रन हुँदा ९ विकेट गुमाएको युएईको लागि मुस्तफाले ज़हर खानसँग मिलेर अन्तिम विकेटका लागि ७० रनको साझेदारी गरे। १९ बलको सामना गर्दै दुई रन जोडेका खान अविजित रहे।
यता, बसिल हमिदले २० रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। युएईका अन्य ब्याटरमा मोहम्मद वासिम, वृत्य अरविन्द, काशिफ दाउद र कप्तान अहमद राजा समान ६-६ तथा चिराग सुरी र सिपी रिजवान समान १-१ रनमा आउट भएका थिए।
अलिशान शराफु र जुनियद सिद्दिकीले शून्य रनमा आउट भए। पपुवा न्यू गिनीका अलेई नाओले सर्वाधिक ४ विकेट लिए भने चाद सोपरले ३ विकेट लिए।
जितसँगै पपुवा न्यू गिनी १५ खेलमा १४ हार र १ जितका साथ पुछारमा छ। पराजित युएई १७ खेलमा ९ जित र ६ हारसहित २० अंकका साथ दोस्रो स्थानमा छ।
ओमान २७ खेलमा १७ जित र ८ हारसहित ३६ अंक जोड्दै शीर्षस्थानमा छ। स्कटल्यान्ड १२ खेलमा ७ जित र ३ हारसहित १६ अंकका साथ तेस्रो स्थानमा छ। अमेरिका १६ खेलमा ७ जित र ९ हारसहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ।
नामिबिया १३ खेलमा ६ जित र ७ हारसहित १२ अंकका साथ पाँचौं स्थानमा छ। नेपाल १० खेलमा ५ जित र ५ हारसहित १० अंकका साथ छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।