काठमाडौं- न्यूजिल्यान्डमा जारी आईसीसी महिला एकदिवसिय विश्वकपमा अस्ट्रेलियाले भारतमाथि सानदार जित निकाल्दै सेमिफाइनलमा पुगेको छ।
शनिबार भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा पुगेको हो। २ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। अस्ट्रेलियाको जारी प्रतियोगितामा यो पाँचौं जित हो।
अस्ट्रेलियाको जितमा कप्तान मेग ल्यानिङले ९७ रनको कप्तानी इनिङ्स खेलिन्। उनले १ सय ७ बलमा १३ चौका प्रहार गरिन्।
अस्ट्रेलियालाई ओपनर एलिसा हेली र राहेल हेन्सले पहिलो विकेटका लागि १९.२ ओभरमा १ सय २१ रनको उत्कृष्ट शतकीय सुरुआत दिलाएकी थिइन्। हेली ६५ बलमा ९ चौकासहित ७२ रनमा आउट भइन्।
यता, हेन्स ५४ बलमा ५ चौकासहित ४३ रनमा आउट भइन्। एलिस पेरी २७ र बेथ मुनीले ३० रन जोडिन्। भारतकी पुजा भास्त्रकारले सर्वाधिक २ विकेट लिइन्।
त्यसअघि टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो। भारतको लागि कप्तान मिथली राजले सर्वाधक ६८ रन बनाइन्। उनले ९६ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्।
यता, यस्तिका भाटियाले ८३ बलमा ६ चौकासहित ५९ रन बनाइन्। हरमनप्रीत कौर ५७ रनमा अविजित रहिन्। पुजा ३४, स्मृति मन्धना १० सफाली बर्मा १२ रनमा आउट भइन्। अस्ट्रेलियाकी डार्सी ब्राउनले ३ र एलना किंगले २ विकेट लिइन्।
जितसँगै अस्ट्रेलिया ५ खेलमा १० अंक जोडेको छ। अस्ट्रेलिया शीर्षस्थानमा छ। अब अस्ट्रेलियाले मंगलबार दक्षिण अफ्रिकासँग खेल्नेछ।
यता, भारत ५ खेलमा २ जित र ३ हारसहित चौथो स्थानमा छ। भारतलाई सेमिफाइनलमा पुग्न बाँकी दुई खेलको जितले मात्र पुग्ने छैन अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने छ।
भारतले मंगलबार बंगलादेशसँग खेल्नेछ। दक्षिण अफ्रिका ४ खेलमा ४ जितका साथ दोस्रो स्थानमा छ। यता, वेस्टइन्डिज ५ खेलमा ३ जित र २ हारसहित तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।