काठमाडौं- नेपाली क्रिकेट टोलीले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पीएनजीविरुद्ध खेल्दै छ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले बुधबार युएईको सारजाहमा पीएनजीको सामना गर्नेछ। नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद् सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ।
नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको छ। दुबै खेलमा नेपालले जित निकालेको छ। यसकारण नेपाल उच्च मनोबलका साथमा मैदानमा उत्रने छ। नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो। नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो ।
नेपालले सिरिजको तयारीका लागि श्रीलंकामा ४ अभ्यास खेल खेलेको थियो। अभ्यास नेपालले ३ खेल जित्दा अन्तिम खेलमा पराजित भएको थियो। चारमध्ये तीन खेल जित्न सफल नेपालको ब्याटिङ प्रदर्शन भने कमजोर रह्यो।
लिग टु मा नेपालले ८ खेलमा ८ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।