काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी र यूएईका युवा ब्याट्सम्यान वृत्य अरविन्दलाई पछि पार्दै भारतीय ब्याट्सम्यान श्रेयस अय्यर आईसीसी ‘प्लेयर अफ द मन्थ’ घोषित भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार महिनाकै उत्कृष्ट खेलाडी अर्थात् आईसीसी ‘प्लेयर अफ द मन्थ’ घोषणा गरेको हो।
आईसीसीले सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीमा पुरुषतर्फ भारतका ब्याट्सम्यान अय्यर र महिलातर्फ न्यूजिल्यान्डकी अलराउन्डर अमिलेया केर परेका छन्।
मनोनयनमा पर्न सफल खेलाडीलाई जिताउनका लागि अनलाइन भोटको खाँचो पर्दछ। आईसीसीमातहतको एउटा स्वतन्त्र आईसीसी भोटिङ एकेडेमी र विश्वभरका समर्थकले सामाजिक सामाजिक सञ्जालमार्फत् गरेको भोटले उत्कृष्ट तीन जनामध्ये पुरुषतर्फ अय्यर र महिलातर्फ केर विजेता घोषित भएका हुन्।
भारतीय खेलाडी अय्यरले वेस्ट इन्डिजसँगको एकदिवसीय र टी२० तथा श्रीलंकासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका थिए। यस्तै, न्युजिल्यान्डकी अलराउन्डर केरले आईसीसी महिला क्रिकेट विश्व कपको अभ्यास खेलमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
आईसीसीले गएको बुधवार फेब्रुअरी महिनाको लागि उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो। मनोनयनमा पुरुषतर्फ अय्यरसँगै नेपालका अलराउन्डर दीपेन्द्रसिंह र यूएईका अरविन्द परेका थिए।
दीपेन्द्रले चार देश सम्मिलित टी२० आई सिरिज र टी२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। दीपेन्द्रले ओमानमा सम्पन्न चार देश सम्मिलित टी२० आई सिरिजमा ओमानसँगको खेलमा ७३ रनको अविजित इनिङ्स खेलेका थिए।
यता, युएईसँग ४१ र आयरल्यान्डसँग २८ रन बनाउनुको साथै ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। यस्तै, मनोनयनमा महिलातर्फ केरसँगै भारतकी मिथाली राज र भारतकै अलराउन्डर दिप्ती शर्मा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।