काठमाडौं- मारिया क्यापको अलराउन्डर प्रदर्शनमा दक्षिण अफ्रिकाले आईसीसी महिला एकदिवसीय विश्वकप २०२२ को १३औं खेलमा साविक विजेता इंग्ल्याण्डलाई ३ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाले ४९.२ ओभरमा ७ विकेट गुमाएर २३६ रन बनाएर जित दर्ता गरेको हो।
२३६ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकालाई १८ रनको स्कोरमा पहिलो झटका लागेको थियो। लिजेल ली ९ रन बनाएर आउट भइन्। लौरा वोल्भार्ट र जमिन ब्रिट्सले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरिन्। ब्रिट्स २३ रन बनाएर प्याभिलियन फर्किइन्। त्यसपछि वोल्भार्टले कप्तान सुने लुससँग अर्धशतकीय साझेदारी खेलिन्।
लुस ३६ र वोल्भार्टले ७७ रन बनाएर आउट भइन्। यहाँबाट इङ्ल्यान्डको पकड बलियो देखिए पनि तल्लो क्रममा ब्याटिङ गर्दै मारियान क्यापले ४९औं ओभरमा आउट हुनुअघि ३२ रन बनाएर आफ्नो टोलीलाई लक्ष्यको नजिक पुर्याइन्।
दक्षिण अफ्रिकाले अन्तिम ओभरमा जितका लागि आवश्यक ४ रन बनाएर खेल जितेको थियो। इंग्ल्याणडका लागि अन्या श्रबसोलेले २ विकेट लिइन्।
त्यसअघि न्यूजिल्यान्डको माउन्ट मौन्गानुईमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड टोलीले १२ ओभरमा तीन विकेट गुमाएको थियो। ड्यानियल व्याट ३, कप्तान हेदर नाइट ९ र नताली शिभर १६ सस्तोमा प्याभिलियन फर्किइन्।
तर, ट्यामी ब्युमन्टले एमी जोन्ससँग मिलेर इनिङ्स उकास्ने कोसिस गरेकी थिइन्। दुवैले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै आ-आफ्ना अर्धशतक पनि पूरा गरे। ब्युमन्ट ६२ र जोन्स ५३ रन बनाएर आउट भइन्।
यता, सोफिया डंक्लेले २६ रनको योगदान दिएकी थिइन्। अफ्रिकाकालागि मारियान क्यापले सर्वाधिक ५ विकेट लिइन्।
दक्षिण अफ्रिकाको यो लगातार तेस्रो जित हो। यता, इंग्ल्याण्ड लगातार तेस्रो पराजय हो। योसँगै इंग्ल्याण्ड प्रतियोगिताबाट बाहिने संघारमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।