काठमाडौं- अभ्यास खेलका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली उतैबाट संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेको छ। सोमबार नेपाली टोली आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट सिरिज खेल्नका लागि युएई प्रस्थान गरेको हो।
श्रीलंकामा रहँदा नेपाली टोलीले ४ अभ्यास खेल खेलेको थियो। नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो खेलमा नेभीलाई नै ८२ रनले हराएको थियो। तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई १ सय ४४ रनले हराएको थियो।
यस्तै, चौंथो तथा अन्तिम अभ्यास खेलमा भने नेपाल श्रीलंका संयुक्त–११ सँग ९२ रनले पराजित भएको थियो।
नेपाल आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्यू गिनीसँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको लागि सोमबार युएई पुग्ने छ।
विश्वकप लिग-२ मा नेपालले पहिलो खेल २ चैतमा पपुवा न्यू गिनीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यस्तै, दोस्रो खेल ४ चैतमा यूएईसँग, तेस्रो खेल ७ चैतमा यूएईसँग नै र ८ चैतमा अन्तिम खेल पपुवा न्यू गिनीसँग खेल्नेछ।
विश्व क्रिकेट लिग–२ मा आठ खेलमा ८ अंकसहित नेपाल छैटाैँ स्थानमा छ। यूएई तेस्रो र पपुवा न्यू गिनी पुछारमा रहेको छ।
युएई भ्रमण सकेर नेपाली टोली स्वदेश फर्किनेछ। र, पपुवा न्यू गिनीको टोली पनि नेपाल उत्रिने छ। नेपाल र पपुवा न्यू गिनीबीच टियु क्रिकेट मैदानमा दुई एकदिवसीय खेल हुनेछ। यस्तै, नेपाल, पपुवा न्यू गिनी र मलेसियाबीच त्रिकोणात्मक टी२० आई सिरिज पनि टियु मै हुनेछ।
नेपालले ११ चैतमा टियु क्रिकेट मैदानमा पपुवा न्यू गिनीसँग पहिलो एकदिवसीय खेल खेल्ने छ। यस्तै, १२ चैतमा दोस्रो एकदिवसीय खेल खेल्ने छ। त्रिकोणात्मक टी२० आई सिरिज भने १४ चैतदेखि २१ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
त्रिकोणात्मक टी२० आई सिरिज डबल राउन्ड रोबिनको आधारमा हुनेछ। नेपालले पपुवा न्यू गिनी र मलेसिय दुवैसँग दुई दुई खेल खेल्नेछ। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।